दुई घण्टाको प्रतीक्षाले सामान्य युवा बने अर्बपति

‘ह्वेर इज माई ट्रेन’ का सर्जक अहमद निजाम

0
Shares

जीवन कहिलेकाहीँ एउटा यस्तो मोडमा उभिएर हाम्रो परीक्षा लिइरहेको हुन्छ, जहाँ हामी या त हार मान्छौँ या त इतिहास रच्छौँ । भारतको तामिलनाडुका एक सामान्य युवा अहमद निजामको कथा ठ्याक्कै त्यस्तै छ, जसले सामान्य मानिसले झर्को मान्ने ‘प्रतीक्षा’ लाई सफलताको सुनौलो सिँढीमा परिणत गरिदिए । सन् २०१५ को त्यो तप्त गर्मीको एकदिन, एउटा भीडभाडयुक्त रेल प्लेटफर्म र रेल दुई घण्टा ढिलो हुने त्यो निराशाजनक एनाउन्समेन्ट । कसैले सोचेको पनि थिएन कि त्यो एउटा साधारण ढिलाइले भारतीय प्रविधिको संसारमा सुनामी ल्याउनेछ भनेर । मानिसहरू पसिना पुछ्दै रेल विभागलाई सरापिरहेका थिए । तर, अहमदको दिमागमा भने अर्कै आँधी चलिरहेको थियो । यात्रीका लागि रेल कहाँ छ र कहिले आइपुग्छ भन्ने अन्योलता कति मानसिक तनावको विषय बन्छ भन्ने उनले महसुस गरे । त्यही दुई घण्टाको छटपटी र भोगाइ अहमदका लागि केवल समयको बर्बादी मात्र थिएन, त्यो एउटा अर्बौँको आइडिया जन्मने प्रसव पीडा पनि थियो ।

अहमदको मनमा एउटा सरल तर गम्भीर प्रश्न उब्जियो । “यदि हामीले आफ्नो हातमा भएको मोबाइलबाट ट्याक्सीको लोकेसन ट्रयाक गर्न सक्छौँ भने लाखौँ मानिसको जीवन जोडिएको रेलको लाइभ लोकेसन किन हेर्न सक्दैनौँ ?” यही एउटा प्रश्नले ‘ह्वेर इज माई ट्रेन’ को अवधारणालाई जन्म दियो । तर, सपना देख्नु र त्यसलाई यथार्थमा बदल्नु बीचको खाडल निकै गहिरो थियो । भारतीय रेलका मार्गहरू त्यस्ता विकट जंगल, पहाड र ग्रामीण भेगबाट गुज्रिन्छन् जहाँ इन्टरनेटको नामोनिशान समेत हुँदैन ।

अहमदका अगाडि इन्टरनेट बिना कसरी रेलको सटीक जानकारी दिने भन्ने कुरा नै सबैभन्दा ठूलो चुनौतीको विषय थियो । धेरैले यसलाई असम्भव ठाने । कतिले त उनको मजाक उडाए । तर, अहमदलाई थाहा थियो कि वास्तविक आविष्कार त्यही हो जसले भुइँतहका मानिसको दुःख मेटाउँछ । उनले हार नमानी एक वर्षसम्म दिनरात एक गरेर २० भन्दा बढी प्रोटोटाइपहरू बनाए । कैयौँ रातहरू अनिद्रामै बिते । तर, उनको संकल्प पत्थर जस्तै बलियो थियो ।

अन्ततः उनले एउटा यस्तो चामत्कारिक ‘जुगाड’ प्रविधि विकास गरे, जसले जीपीएस वा इन्टरनेटको सट्टा मोबाइल टावरको सिग्नल प्रयोग गरेर रेलको लोकेसन पत्ता लगाउन सक्थ्यो । यो प्रविधिको क्षेत्रमा एउटा मौन क्रान्ति थियो र सुरुवाती दिनहरू संघर्षले भरिएका थिए । आर्थिक अभावले अहमदलाई थिचेको थियो । तर, उनले आफ्नो सोचलाई मर्न दिएनन् । उनले ‘सिग्मोइड ल्याब्स’ मार्फत जब यो एपलाई बजारमा ल्याए, यसले कुनै विज्ञापनको सहारा लिनु परेन । यो एपको सरल बनावट र इन्टरनेट बिना पनि चल्ने जादुमयी विशेषताले गर्दा मानिसहरूले यसलाई एकदमै रुचाए । गाउँदेखि सहरसम्मका यात्रीहरूका लागि यो एउटा भरपर्दो सहयात्री बन्यो । केवल १० जनाको सानो टोलीले बनाएको यो एप कुनै तामझाम बिना नै १० करोडभन्दा बढी मानिसहरूको मोबाइलमा पुग्यो । यो केवल एउटा प्रविधिको मात्र जित थिएन, यो त एउटा मानिसको समस्यालाई समाधानमा बदल्ने उत्कट चाहनाको विजय थियो ।

अहमदले प्रमाणित गरिदिए कि यदि तपाईँको उत्पादनले साँचो अर्थमा कसैको समस्या हल गर्छ भने तपाईँलाई करोडौँको विज्ञापन बजेट चाहिँदैन, मानिसहरूको विश्वास नै पर्याप्त हुन्छ । यस एपको अभूतपूर्व लोकप्रियता र यसले सिर्जना गरेको प्रभाव यति शक्तिशाली थियो कि विश्वकै प्रविधि क्षेत्रको सम्राट मानिने ‘गुगल’ को नजर यसमा प¥यो । अहमदको सानो कोठाबाट सुरु भएको यो यात्राले सन् २०१८ मा एउटा यस्तो उचाइ लियो, जसको कल्पना सायद कसैले गरेका थिएनन् । गुगलले अहमदको कम्पनीलाई करिब २ सय ८० करोड भारतीय रुपैयाँमा खरिद गर्ने सम्झौता ग¥यो । हिजोसम्म प्लेटफर्ममा रेल पर्खिएर बस्ने एक सामान्य युवा आज अचानक विश्वव्यापी चर्चाको केन्द्र र अर्बपति बने । यो सफलताको कथा सुन्दा कुनै काल्पनिक जस्तो लाग्छ, तर यसको पछाडि अहमदको वर्षौँको धैर्य, त्याग र नडगमगाउने आत्मविश्वास लुकेको थियो ।

अहमदको यो प्रेरक प्रसङ्गले एउटा ठूलो पाठ सिकाउँछ । संसारमा समस्याहरू सबैका लागि आउँछन्, तर इतिहास तिनैले रच्छन् जसले ती समस्याभित्र लुकेको अवसरलाई चिन्न सक्छन् । आविष्कारका लागि सधैँ भव्य प्रयोगशाला वा महँगो डिग्री नै चाहिन्छ भन्ने छैन । कहिलेकाहीँ एउटा सानो समस्यालाई समाधान गर्ने तीव्र इच्छाशक्ति नै काफी हुन्छ । आज अहमद निजाम लाखौँ युवा उद्यमीहरूका लागि एउटा जीवन्त उदाहरण हुन् । यदि आफ्नो सपनामाथि अटूट विश्वास छ र तपाईँ कठिन परिस्थितिमा पनि अडिग रहन सक्नुहुन्छ भने एउटा सामान्य दुई घण्टाको ढिलाइले पनि तपाईँको भाग्यको ढोका खोल्न सक्छ भन्ने यथार्थ अहमदको वास्तविकताले उजागर गर्छ ।