काठमाडौं ।
नेपाली सेनाले आयोजना गरेको “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” सम्पन्न भएको छ। जङ्गी अड्डामा शुक्रबार आयोजित एकदिने गोष्ठीको समापन प्रधानसेनापति महारथी अशोक राज सिग्देलले गरेका हुन्।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सूचना प्रविधिको तीव्र विकाससँगै बढ्दो साइबर चुनौती, डाटा चुहावट तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जित सुरक्षा जोखिमबारे कार्यक्रममा गम्भीर छलफल गरिएको थियो।

गोष्ठीमा साइबर सुरक्षासम्बन्धी विभिन्न विषयमा विज्ञहरूले प्रस्तुतीकरण दिएका थिए भने सहभागीहरूबीच समसामयिक साइबर चुनौती र समाधानका उपायबारे अन्तरक्रिया समेत गरिएको थियो।
कार्यक्रममा विभिन्न मन्त्रालय तथा सरकारी निकायका प्रतिनिधि, नेपाली सेना, अन्य सुरक्षा निकाय, सरकारी तथा साइबर सुरक्षासँग सम्बन्धित गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाली सेनाले यस्ता कार्यक्रमले राष्ट्रिय स्तरमा साइबर सुरक्षा रणनीति निर्माण, प्रविधिको सुरक्षित प्रयोगबारे साझा अवधारणा विकास तथा मुलुकको डिजिटल पूर्वाधारको सुरक्षा क्षमता अभिवृद्धिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया