सामसङ स्मार्ट प्लाजा इमाडोल, ललितपुरमा उद्घाटन


काठमाडौँ
सामसङ स्मार्ट प्लाजाले सोमबार, ११ मे २०२६ मा इमाडोल, ललितपुरमा आफ्नो नयाँ पन्ध्रौँ आउटलेटको औपचारिक उद्घाटन गरेको छ । यससँगै नेपालमा सामसङको खुद्रा उपस्थिति अझ सुदृढ बनेको कम्पनीले जनाएको छ ।

उक्त शोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यू के जङ, गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गर्नुभएको हो । कम्पनीका अनुसार यो उद्घाटन सामसङको नवप्रवर्तन, पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कोशेढुंगा हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जङले नेपालमा सामसङको किफायती, पहुँचयोग्य र सहज ओम्नी–च्यानल ग्राहक अनुभवप्रतिको ध्यानलाई पुनः पुष्टि गरेको बताउनुभयो । उहाँले विभिन्न उत्पादनमा २४ महिनासम्मको इएमआई सुविधा विस्तार गरिएकाले अब धेरै नेपाली परिवारले प्रिमियम स्मार्टफोन, टिभी र होम एप्लायन्स थप वित्तीय लचकतासहित प्राप्त गर्न सक्ने बताउनुभयो ।

उहाँले सामसङको ओम्नी–च्यानल इकोसिस्टममार्फत डिजिटल र भौतिक खुद्रा अनुभवलाई एकीकृत गर्ने प्रयासबारे पनि प्रकाश पार्नुभयो । ग्राहकले सामसङ प्लाजा डट कम डट एनपीमार्फत सजिलै अनलाइन अर्डर गर्न, प्रिमियम उत्पादन अनुभव तथा विश्वसनीय परामर्शका लागि नजिकैको सामसङ प्लाजा भ्रमण गर्न र ‘बाइ अनलाइन, पिक अप इन स्टोर’ सेवा छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

जङले सामसङको रेमिट्यान्स रिवार्ड प्रोग्रामबारे पनि विशेष उल्लेख गर्नुभयो । उहाँका अनुसार विदेशमा रहेका आफन्तसँग जोडिएका नेपाली परिवारलाई सामसङ उत्पादनमार्फत सहज अनुभव, विशेष लाभ तथा विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको हो ।

कम्पनीका अनुसार सामसङ प्लाजा केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले उत्पादन हेर्न, छुन, तुलना गर्न तथा विश्वसनीय परामर्श प्राप्त गर्न सक्ने अनुभव केन्द्रका रूपमा डिजाइन गरिएका छन् । नयाँ सामसङ स्मार्ट प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम एप्लायन्स तथा उन्नत इलेक्ट्रोनिक्ससहित सामसङका आधिकारिक उत्पादनहरूको विस्तृत दायरा उपलब्ध रहेको छ ।

सामसङ स्मार्ट प्लाजाले इमाडोल तथा आसपास क्षेत्रका ग्राहकलाई नयाँ आउटलेट भ्रमण गरी अझ स्मार्ट र जोडिएको किनमेल अनुभव लिन आमन्त्रण गरेको छ ।