सन्तोषी र अक्कललाई उपाधि


नेपालगञ्ज ।

धादिङकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका अक्कलबहादुर पालले दोस्रो नेपालगन्ज १० म्युजिक नाइट रनको उपाधि जितेका छन् । वल्र्ड रनिङको आधिकारिक संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट प्रमाणीकरण भएको रुटमा शनिवार राति १० किमी खुला रोड रेस भएको थियो ।

पुरुषतर्फ अक्कलले ३२ः१८ः०० मिनेटमा निर्धारित दुरी पुरा गर्दै प्रथम हुँदा भुपेन्द्र सुनार दोस्रो भए । उनले ३३ः०४ः७७ मिनेटमा दुरी पुरा गरे । यसमा बाँके नरैनापुरका अरविन्द यादवले ३३ः०८ः०९ मिनेटमा पुरा गर्दै तेस्रो भए ।

महिलातर्फ सन्तोषीले ३९ः०९ः०० मिनेटमा दुरी पुरा गर्दा बाँके कोहलपुरकी दीपशीखा शाही ४४ः५८ः१३ मिनेटमा पुरा गरी दोस्रो भइन् । यसमा बाँके नरैनारपुरकी गीता साहु ५२ः२६ः३० मिनेका साथ तेस्रो भए । गीता पहिलो संस्करणमा विजेता थिइन् ।