काठमाडाैं ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा मार्ग खुलेको १५ वर्षपछि सडकखण्ड स्तरोन्नति भएको छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडकको बाबियाचौर–दरबाङ खण्डको वैकल्पिक मानिएको पोक–सेराफाँट–पीपलबोट–छिसवाङ–खोप्टी–छ्यारछ्यारे–दरबाङ अन्तर्गत छिसवाङ खण्डमा स्तरोन्नति भएको हो ।
संघीय सरकारले चालु आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरेको योजना निर्माणका लागि सडक डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य–पदमदीप जेभीले लक्ष्यअघि नै काम सम्पन्न गरेको छ ।
निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले गत माघ महिनादेखि शुरु भएको सडक स्तरोन्नति योजनाको म्याद आगामी असारसम्म भए पनि तीन महिनाअघि नै सम्पन्न गरेको बताउनुभयो ।
दुई करोड पाँच लाख ५५ हजारमा ठेक्का सम्झौता भएको थियो । खहरेदेखि छिसवाङ हुँदै ओखोलासम्म एक किलोमिटर ५ सय मिटर सडकलाई पक्की नालासहित ९ मिटर फराकिलो बनाएर ग्राभेल गरिएको छ ।
२०६७ सालमा मार्ग खुलेको सडक स्तरोन्नति भएपछि आवतजावतमा सहज भएको छिसवाङका स्थानीय दुर्गाबहादुर खत्रीले बताएका छन् ।
मार्ग खुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा तीनदेखि चार मिटर फराकिलो सडकमा एकतर्फी मात्र गाडी चल्ने गरेका थिए । सडक फराकिलो पार्न स्थानीयवासीले स्वःफूर्त रुपमा जग्गामा संरचना बनाउन दिएर सहयोग गरेका छन् ।
जिल्लाको रणनीतिक महत्वको सडकको विकल्प भएकाले यो सडकलाई महत्व र प्राथमिकता दिइएको छ ।











प्रतिक्रिया