सिन्धुलीका तीन स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने


सिन्धुली ।

सिन्धुलीका स्थानिय तहहरुले शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर आईतवार पनि विद्यालय खुलाउने निर्णय गर्न थालेका छन् । यो समाचार तयार पर्दा सम्म जिल्लाका नौ स्थानीय तह मध्ये तीन स्थानीय तहहरुले नेपाल सरकारले विदा दिएको आइतबारका दिन पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् ।

शैक्षिक गतिविधि प्रभावित नहोस् भन्ने उद्देश्यले पहिला जसरी नै आइतबार देखि शुक्रवार सम्म विद्यालयमा पठनपाठन गराउने निर्णय गरिएको तहहरूले जनाएका छन् ।

जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका र सुनकोशी गाउँपालिकाले सूचना जारी गर्दै आइतवार देखि शुक्रवार सम्म विद्यालय नियमित रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

खाडी युद्धका कारण पेट्रोलियम इन्धनको संकटको कारण देखाउँदै गएको चैत २२ को मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थाहरू शनिबार र आइतबार गरी दुई दिन बन्द गर्ने निर्णय गरेको थियो ।
कमलामाई नगरपालिकाले शनिवार (हिजो) कार्यपालिका बैठकबाट निर्णय गर्दै आइतबार पठनपाठन गराउन विद्यायहरुलाई निर्देशन गरेको छ ।

मरिण गाउँपालिकाले शैक्षिक सत्र २०८३ वैशाख १५ गतेदेखि सुरु गर्ने तथा नेपाल सरकारबाट अर्को सूचना प्राप्त नभएसम्म गाउँपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

यस्तै सुनकोशी गाउँपालिकाले पनि हालको पाठ्यक्रम अनुसार कार्यघण्टा पूरा हुने अवस्था नदेखिएको भन्दै आइतबार समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

भविष्यमा नेपाल सरकारले पाठ्यक्रम परिमार्जन गरी स्थायी रूपमा बिदा कार्यान्वयन गरे सोही अनुसार गरिने गाउँपालिकाले जनाएको छ ।
जिल्लाका अरु छ स्थानीय तहहरुले आइतवार विद्यालय संचालन गर्ने बारेमा कुनै निर्णय गरेको सार्वजनिक भएको छ्रैन् ।