काठमाडौं ।
नेपाल ओकिनावा गोजु–र्यु कराते–डो संघको आयोजनामा प्रथम अन्तर्राष्ट्रिय कराते प्रतियोगिता यही वैशाख २५ र २६ गते काठमाडौंको नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने भएको छ ।नेपाली करातेको स्तर अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पहिचान स्थापित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पाँच देशलाई निमन्त्रणा गरिएको भए पनि हालसम्म बेल्जियम, भारत र नेपालसहित तीन देशको सहभागिता सुनिश्चित भइसकेको छ । संघकी मुख्य प्रशिक्षक डा. तिलु रानाका अनुसार खेलकुद केवल पदक जित्ने माध्यम मात्र नभई शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ गर्ने महत्वपूर्ण साधन हो । उनले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीहरूलाई नयाँ अनुभव दिलाउने, अनुशासन, आत्मविश्वास र क्षमतामा अभिवृद्धि गर्ने बताइन् ।
आयोजकका अनुसार प्रतियोगिताले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतिस्पर्धीसँग प्रत्यक्ष भिड्ने अवसर प्रदान गर्नेछ । यसबाट खेलाडीहरूले आफ्नो क्षमता परीक्षण गर्नुका साथै नयाँ प्रविधि, खेल शैली र प्रशिक्षण विधिबारे ज्ञान हासिल गर्ने अपेक्षा गरिएको छ । साथै, विभिन्न देशका प्रशिक्षक तथा खेलाडीबीचको अन्तरक्रियाले अनुभव आदान–प्रदानमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा करातेका चार प्रमुख शैली—शितोरियो, गोजुरियो, वादोरियो र शोतोकान अन्तर्गतका खेलाडीहरूले प्रतिस्पर्धा गर्न सक्नेछन । कुनै पनि मान्यता प्राप्त संघ–संस्थालाई सहभागिताका लागि खुला गरिएको आयोजकले जनाएको छ । नेपालको कराते खेललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै समग्र खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।











प्रतिक्रिया