डडेल्धुराका सबै सरकारी कार्यालयहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति कार्यान्वयन गर्न कार्ययोजना तयार

376
Shares

डडेल्धुरा।

डडेल्धुरा जिल्लास्थित सबै सरकारी कार्यालयहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न सामुहिक कार्ययोजना तर्जुमा गरिएको छ ।

सामाजिक विकास कार्यालय डडेल्धुराको आयोजनामा बिहीबार डडेल्धुरा सदरमुकाममा सम्पन्न जिल्लास्थित सबै सरकारी कार्यालयमा कार्यरत लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति फोकल पर्सनहरुको बैठक तथा अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सबै सरकारी कार्यालयहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्ययोजना तर्जुमा गरेका हुन् ।

संवैधानिक र कानूनी आधारमा उच्च प्राथमिकतामा राखिएको लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, निर्देशिका, कार्यविधि, कानून र नियमावलीहरुको प्रभावकारी कार्यान्वयन गरेर सिमान्तकृत तथा बहिष्करणमा पारिएका समुदायलाई राज्यको मुलधारमा समेटन योगदान पु¥याउने उदेश्यले सामुहिक कार्ययोजना तर्जुमा गरेर कार्यान्वयनको प्रयास थालिएको सामाजिक विकास कार्यालय डडेल्धुराका कार्यालय प्रमुख मिनबहादुर लामिछानेले बताउनु भयो ।

डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले जिल्लास्थित सबै सार्वजनिक निकायहरुमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीतिको प्रभावकारी रुपमा कार्यान्वयन गर्न कार्ययोजना फलदायी हुने विश्वास ब्यक्त गर्नुभयो । उँहाले सबै नागरिकहरुको समान अवशर र पहुँच सुनिश्चित गर्न सार्वजनिक निकायहरुबाटै आवश्यक पहल गरिनु प्रशंसनीय कार्य भएको जिकिर गर्नुभयो । कार्यायोजनाको प्रभावकारी कार्यान्वयन हुन सकेमा विद्यमान सबैखाले विभेद र अवशरहरुको असमान वितरणमा कमि आउने र महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक र अन्य सीमान्तकृत समुदायलाई समान अवसर र न्याय सुनिश्चित गर्न सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जिल्लास्थित सबै सरकारी कार्यालयहरुले महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसंख्यक र अन्य सीमान्तकृत समुदायलाई समान अवसर र न्याय सुनिश्चित गर्न ढिलाई गर्न नहुने बताउनुभयो । विपन्न तथा अवशरविमुख समुदायसम्म राज्यका सबैखाले अवशरहरुको पहुँच सुनिश्चित गर्न लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीतिको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उँहाले उल्लेख गर्नुभयो ।

सामुहिक कार्ययोजनामा हरेक चौमासिकमा एकपटक लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति फोकल पर्सनहरुको बैठक आयोजना गरेर अनुभव आदानप्रदान गर्ने, नीति कार्यान्वयनको अशस्थाको समिक्षा गर्ने, हरेक सार्वजनिक निकायमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीतिका सन्दर्भमा कर्मचारीहरुको क्षमता अभिवृद्धिगर्ने, विभेदजन्य कृयाकलापहरुको अन्त्यगर्न कर्मचारी आचारसंहिता परिपालना गर्ने, कार्यालयका भौतिक संरचनाहरुलाई लैंगिक समानता तथा सामाजिक समावेशीकरणमैत्री बनाउन पहल गर्ने, बञ्चितिकरणमा परेका तथा पछाडी पारिएका समुदायका सेवाग्राहीलाई उच्च प्राथमिकता दिएर सेवाप्रवाह र अवशरहरुको वितरण गर्ने, सामाजमा व्याप्त बिभिन्नखाले विभेदजन्य कृयाकलापहरुको अन्त्य गर्नका लागि जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने र लैंगिक समानता तथा सामाजिक समावेशीकरण नीति, निर्देशिका, प्रचलित कानूनहरु र कार्यविधिहरुको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर क्रियासिल रहने जस्ता कृयाकलापहरु समेटिएका छन ।

कार्यक्रममा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अवधारणा, नेपालमा यसको कार्यान्वयनको अबस्था, हालसम्मका उपलब्धीहरु र अगामी कार्यदिशाका बारेमा पत्रकार राम धामीले सहजीकरण गर्नु भएको थियो ।