१०० विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग


काठमाडौं ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि ६ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले माट्रिका आइ सेन्टरसँगको सहकार्यमा धनुषा र महोत्तरी जिल्लाका आर्थिक रूपमा कमजोर १०० जना मोतिबिन्दु पीडितको जनकपुरमा निःशुल्क शल्यक्रिया गराउन उक्त सहयोग उपलब्ध गराएको हो।

यस कार्यक्रमबाट ग्रामीण भेगका मोतिबिन्दुका बिरामी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको कम्पनीले जनाएको छ। माट्रिका आइ सेन्टरले विगतदेखि नै देशका विभिन्न जिल्लामा आँखा सम्बन्धी स्वास्थ्य सेवा, मोतिबिन्दु पहिचान तथा शल्यक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ।

आईएमई लाइफ इन्स्योरेन्सका उप–कार्यकारी प्रमुख खिलेन्द्र पौडेलले कम्पनीले स्वास्थ्य, शिक्षा तथा समुदाय विकासका क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर योगदान गर्दै आएको बताउनुभयो। उहाँले यस सहकार्यले आर्थिक अभावका कारण दृष्टि गुमाउने जोखिममा रहेका नागरिकलाई नयाँ आशा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, माट्रिका आइ सेन्टरका अध्यक्ष सूरज श्रेष्ठले आईएमई लाइफ इन्स्योरेन्सको सहयोगप्रति आभार व्यक्त गर्दै कार्यक्रमले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनमा सकारात्मक परिवर्तन ल्याउने बताउनुभयो।

आईएमई लाइफ इन्स्योरेन्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय उत्थानका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।