विद्यार्थी नेताहरूको पक्राउप्रति कांग्रेसको आपत्ति, बिना शर्त रिहाइको माग


काठमाडौं।

नेपाल विद्यार्थी संघका केही नेताहरूको पक्राउप्रति नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कांग्रेसले पक्राउ परेकाहरूलाई बिना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ। राजीनामा र मूल्यवृद्धिको विरोधमा नेविसंघका केही नेताहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनजिकै प्रदर्शन गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।

कांग्रेसले आज एक बिज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य ईं. भुवन भट्टसहित विद्यार्थी नेताहरू कुम्भराज देउवा, नविन विष्ट, आकाश देवकोटा, शुशील ऐडी र विशाल वि.सीलाई पक्राउ गरी थुनामा राखिएको घटनाप्रति आपत्ति जनाएको हो।

कांग्रेसले लोकतान्त्रिक शासन व्यवस्थामा वाक तथा प्रकाशनको स्वतन्त्रता, शान्तिपूर्ण रूपमा हिडडुल गर्ने अधिकार तथा विरोध वा असहमति व्यक्त गर्ने स्वतन्त्रता नागरिकका मौलिक अधिकार भएको उल्लेख गरेको छ। यस्ता अधिकारहरूको संरक्षण गर्नु राज्यको संवैधानिक तथा नैतिक दायित्व भएको पनि वक्तव्यमा भनिएको छ।

वक्तव्यमा यस्ता अधिकार प्रयोग गर्ने क्रममा नागरिकलाई पक्राउ गरी थुनामा राख्ने कार्यले लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाउने उल्लेख गरिएको छ। साथै, असहमतिलाई नियन्त्रण र दमन गर्ने सरकारको शैली लोकतान्त्रिक मान्यता तथा संविधानको मर्म विपरीत भएको कांग्रेसको ठहर छ।

कांग्रेसले असहमति र विरोध लोकतन्त्रको अभिन्न अङ्ग भएको भन्दै त्यसलाई दमन गर्ने होइन, संवाद र सहकार्यबाट समाधान खोज्नुपर्नेमा जोड दिएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसेले सम्बन्धित निकायसँग पक्राउ परेका विद्यार्थी नेताहरूलाई तत्काल रिहा गर्न तथा भविष्यमा नागरिक अधिकारमाथि अतिक्रमण नगर्न आग्रह गरेका छन्।