काठमाडौं ।
नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी पूर्वकप्तान अञ्जिला सुब्बा तुम्बापोले उहाँकै सामाजिक सञ्जालमा फेरि एकपटक ‘नेपाली फुटबल अहिले एउटा यस्तो दोबाटोमा उभिएको छ, जहाँ खेलभन्दा बढी राजनीति र प्रशासनिक विवाद हाबी भइरहेको छ । यो देख्दा एउटा खेलाडीको नाताले मन साह्रै रुन्छ ।’ भनेर पोस्ट गर्नुभएको छ ।
उहाँले उक्त पोस्टमा लेख्नुभएको छ– ‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फा बीचको आन्तरिक कलहले गर्दा आगामी साफ महिला च्याम्पियनसिप २०२६ मा हाम्रो सहभागिता नै संकटमा पर्नु भनेको खेलकुदकै उपहास हो । यी प्रशासनिक रोक र समयसीमाको उल्लंघन केवल कागजका कुरा होइनन् – यसका पछाडि हजारौं खेलाडीहरूको पसिना, सपना र देशका लागि केही गर्ने वर्षौंको मिहिनेत लुकेको हुन्छ ।’
उहाँले खेलकुद जोड्ने माध्यम बन्नुपर्नेमा प्रशासनिक दाउपेचको रणभूमि बनेको भन्दै दुवै पक्षलाई तुरुन्तै आपसी सहमति खोज्न म हार्दिक आग्रह गर्नुभएको छ । खेलाडीलाई खेल्ने वातावरण दिन आग्रह गर्दै उहाँले लेख्नुभएको छ– ‘हाम्रो मिहिनेत गोवाको मैदानमा देखिनुपर्छ, बन्द कोठाको विवादमा हराउनु हुँदैन ।’
यसले नेपाली फुटबल निकै संकटमा परेको छर्लङ्ग पारेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व र अरू सरोकारवालाबीच स्वार्थको लडाइँमा नेपाली फुटबलको अवसान भइरहँदा गोलकिपर समेत रहेकी अञ्जलीले यस्तो भावनात्मक स्टाटस पोस्ट गर्नुभएको थियो ।
अर्ली इलेक्सन गर्न तम्सिएपछि एन्फालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ३ महिनाका लागि निलम्बन गरेपछि नेपाली फुटबलमा संकट थपिएको हो । यस निलम्बनपछि नै नेपालका फुटबलरहरूले खेल्न पाएनन् ।
पहिलोपटक एन्फाले सुरु गरेको महिला ‘ए’ डिभिजन लिग चार खेलपछि स्थगन भयो । पुरुष फुटबल राष्ट्रिय लिग पनि बीचैमा स्थगन भयो । यही अप्रिल तेस्रो साता थाइल्यान्डमा भएको फिफा महिला फुटबल सिरिजबाट नेपालले सहभागिता जनाउन पाएन ।
अहिले चाहिँ मुख्य संकट भनेको गोवामा हुन लागेको महिला साफ च्याम्पियनसिप गुमाउन सक्ने सम्भावना हो । यदि, फिफा, एएफसी, एन्फा र राखेपबीच यही अप्रिल २७ भित्र एउटा सहमति नभएमा नेपालले गोवामा हुने साफ च्याम्पियनसिप खेल्न पाउने छैन । नेपालले यही अप्रिल २७ सम्ममा खेल्ने पत्र आयोजक राष्ट्रलाई पठाउनु पर्ने भएकोले सकारात्मक सहमति अहिले नै आउनु पर्दछ ।
महिला साफ च्याम्पियनसिपमा अहिलेसम्म नेपाली टोलीले उपाधि जित्न सकेको छैन । उपाधि जित्नैका लागि प्रशिक्षक तथा पूर्व राष्ट्रिय फुटबलर नवीन न्यौपानेले यसपटक बलियो टोली तयार गर्ने तयारीमा हुनुहुन्छ । प्रशिक्षक न्यौपानेले भन्नुभएको छ– ‘मेरो लक्ष्य साफ च्याम्पियनसिप जित्नु हो । ’
तर, उहाँले यसो भनिरहँदा एन्फाबाट कुनै सहयोग भने पाइरहनुभएको छैन । न सरोकारवालाहरूले राखेप र एन्फाको विवाद नै साम्य गर्न कुनै ठोस कदम नै चालेको छ । निलम्बन एन्फाका महासचिव किरण राईले त अब जे गर्छ राखेपले नै गर्छ भन्ने प्रतिक्रिया दिनुभएको छ । यसको मतलब अब, नेपाली फुटबल जिरो साइजमा पुगिसकेको स्पष्ट नै छ ।
यदि, समयमै समस्याको निकास हुन नसके नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिति हुने छैन नै । घरेलु फुटबल पनि पतनको बाटोमा जाने पक्कै छ । यसैले बेलैमा सरोकारवालाहरूले नेपाली फुटबल बचाउन आ–आफ्नो अडान छाडेर मिल्नुपर्ने अहिलेको समयको आवश्कता हो ।











प्रतिक्रिया