आईसीटी फाउन्डेसनको ५०+ स्टार्टअपलाई इन्क्युबेसन सपोर्ट, हाइब्रिड मोडलमा मेन्टरशिपदेखि इन्भेस्टमेन्टसम्म सुविधा


काठमाडौँ
औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन)लाई बिजनेस इन्क्युबेसन सर्भिस (बीआईएस) अपरेसन एन्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि छनोट गरिएको छ ।

यसअन्तर्गत आईएफएनले डिजिटल तथा आईटी–इनेबल्ड स्टार्टअप इन्क्युबेसन प्रोग्राम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौं उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित ५० भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई समर्थन गर्नेछ ।

मार्चदेखि जुन २०२६ सम्म सञ्चालन हुने यो कार्यक्रम हाइब्रिड मोडलमा सञ्चालन हुनेछ । सहभागी स्टार्टअपहरूले वान–टु–वान मेन्टरशिप, क्यापसिटी बिल्डिङ, बिजनेस डेभलपमेन्ट तथा भ्यालिडेसन सपोर्ट र इन्भेस्टर रेडिनेस तयारी जस्ता सुविधा प्राप्त गर्नेछन् । आयोजकका अनुसार यो पहलले काठमाडौं बाहिर पनि उद्यमशीलताको विस्तार गर्दै क्षेत्रीय नवप्रवर्तन इकोसिस्टमलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

छनोट भएका स्टार्टअपहरूले उद्योग विशेषज्ञसँग प्रत्यक्ष सम्पर्क, व्यावहारिक तालिम र नेटवर्किङ अवसर पाउनेछन्, जसले उनीहरूलाई बिजनेस मोडल सुधार, बजार विस्तार र लगानी तयारीमा सहयोग पु¥याउने विश्वास गरिएको छ । उत्कृष्ट प्रदर्शन गर्ने स्टार्टअपहरूले सीड इन्भेस्टमेन्ट सपोर्टसमेत प्राप्त गर्नेछन् भने उनीहरूलाई आईसीटी अवार्ड, स्टार्टअप एन्ड आइडिया फेस्ट, नेशनल कन्क्लेभ र एआई कन्फरेन्स जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्लेटफर्ममा पहुँच दिइनेछ ।

आईसीटी फाउन्डेसन नेपालले यसअघि पनि डिजिटल कर्णाली कन्क्लेभ र डिजिटल मधेश कन्क्लेभ जस्ता कार्यक्रममार्फत क्षेत्रीय नवप्रवर्तन प्रवद्र्धनमा योगदान दिँदै आएको छ । यस कार्यक्रमले नेपालमा स्टार्टअप इकोसिस्टम सुदृढ गर्दै समावेशी उद्यमशीलता र नवप्रवर्तनमा आधारित आर्थिक वृद्धि अघि बढाउने लक्ष्य लिएको छ ।