काठमाडौं ।
चर्चित नेपाली सेफ सन्तोष साहलाई चेक अनादर (बाउन्स चेक) सम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई गएराति जनकपुरबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार गैरीधारास्थित एक रेष्टुरेन्ट खरिद–बिक्रीको कारोबारका क्रममा दिइएको चेक साट्न जाँदा अनादर भएको भन्दै उजुरी परेपछि साहलाई नियन्त्रणमा लिइएको हो।
सोही मुद्दामा नारायण साहलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका उनीहरूमाथि बैंकिङ कसुर तथा चेक अनादर सम्बन्धी आरोपमा थप अनुसन्धान भइरहेको छ।
प्रहरीले दुवै जनालाई आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइएको जनाएको छ। अनुसन्धानपछि उनीहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन अन्तर्गत मुद्दा दर्ता गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। बेलायतस्थित विभिन्न अन्तर्राष्ट्रिय पाककला प्रतियोगितामार्फत चर्चा कमाएका सेफ सन्तोष साहको पक्राउपछि सामाजिक सञ्जालमा समेत व्यापक चर्चा सुरु भएको छ। यद्यपि, आरोपबारे साह वा उनका कानुनी प्रतिनिधिको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।











प्रतिक्रिया