इरान–अमेरिका ऐतिहासिक सम्झौता नजिक, हर्मुज जलमार्ग पुनः खोल्ने तयारी


वाशिङ्गटन डीसी ।

इरान र संयुक्त राज्य अमेरिकाबीच जारी सैन्य तनाव अन्त्य गर्न ऐतिहासिक सम्झौता अन्तिम चरणमा पुगेको छ। प्रस्तावित सम्झौताअनुसार विश्वकै रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने र सैन्य तनाव घटाउने सहमति भएको इरानले जनाएको छ।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीका अनुसार अमेरिकासँगको सम्झौतामा इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी हटाउने विषय पनि समावेश छ। तर इरानको आणविक कार्यक्रमबारे विस्तृत वार्ता पछिल्लो चरणमा हुने बताइएको छ।

अमेरिकी अधिकारीहरूले भने इरानले आफ्ना प्रतिबद्धता पूरा गरेपछि मात्र नाकाबन्दी हटाउने र आर्थिक लाभ दिने प्रक्रिया अघि बढ्ने बताएका छन्।

यो तनाव गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको बताइन्छ। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी देशहरूमा आक्रमण गरेको थियो। सोही क्रममा हर्मुज जलमार्ग बन्द हुँदा विश्व ऊर्जा आपूर्तिमा ठूलो असर परेको थियो।