केकेआरको सात खेलमा पहिलो जित


नयाँ दिल्ली, (एजेन्सी)

कोलकाता नाइट राइडर्स (केकेआर) ले जारी आईपीएलमा पहिलो जित हासिल गरेको छ । आइतबार कोलकाताकै इडेन गार्डेन्समा भएको खेलमा केकेआरले राजस्थान रोयल्स (आरआर) लाई ४ विकेटले हराएको हो । योसँगैं केकेआरको अंकतालिकामा ७ खेलमा ३ अंक भयो भने दोस्रो हार बेहोरेको आरआरको ६ खेलमा ८ अंक रहेको छ । केकेआरको पञ्जाब किंग्सविरुद्ध एक खेल वर्षाकोे कारण रद्ध गरिएको थियो ।

पहिले ब्याटिङ गरेको आरआरले निर्धारित २० ओेभरमा ९ विकेटको क्षतिमा १ सय ५५ रन जोडेको थियो । सुरुआतमा वैभव सूर्यवंशी र यशस्वी जैसवालले जुन आक्रमक ब्याटिङ गरे त्यो आधारमा आरआर कमसेकम २ सय रन बनाउनेतिर अग्रसर थियो । तर, यी दुबै जना आउट भएपछि आरआरमाथि केकेआरका बलरहरूले दबाब राख्न सफल भएका थिए ।

वैभव ४६ रनमा आउट भए भने यशस्वीले ३९ रन बनाए । यसपछि आएका ब्याटरमा कसैले पनि राम्रो ब्याटिङ गर्न सकेनन् । यशस्वी ११.१ ओभरमा ९९ स्कोरमा आउट भएका थिए । आरआरले बाँकी ८.५ ओभरमा ५६ रन जोड्दा ६ विकेट गुमाएको थियो । केकेआरको तर्फबाट सर्वाधिक विकेट वरुण चक्रवर्ती र कार्तिक त्यागीले ३÷३ विकेट लिएका थिए । यस्तै, सुनिल नारायणले २ विकेट हात पारेका थिए ।

जवाफमा उत्रेको घरेलु टोली केकेआरको सुरुआत खासै राम्रो भएको थिएन । दुबै ओपनर टिम सेफर्ट र कप्तान आजिन्क्य रहाने शून्यमा आउट भएका थिए । यसपछि ४ विकेट फटाफट आउट हुँदा केकेआर ६÷८५ को कमजोर स्कोरमा पुगेको थियो ।
तर, रिन्कु सिंह र अनुकुल रायले नटआउट हुँदैं जित दिलाए । उनीहरूले सातौं विकेटका लागि ३७ बलमा ७६ रन साझेदारी गरेका थिए । रिन्कुले ५३ रन र अनुकुलले २९ रन बनाएका थिए ।