काठमाडौ ।
माछापुछ्रे बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच इएफटी कार्ड स्विचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सक्षम बनाउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन् ।
एनसीएचएलको इएफटी स्विच नेशनल कार्ड स्विचसँग एकीकृत भइसकेको छ । उक्त सम्झौतापछि माछापुछ्रे बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ । साथै, डिस्कभर नेटवर्क अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरू तथा युपीआई कार्डसमेत स्वीकृत गरी नेपालपे कार्डका कारोबार प्रक्रिया गर्न सकिनेछ । पहिलो चरणमा बैंकले आफ्ना १९९ भन्दा बढी एटीएम र ३००० भन्दा बढी पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको स्वीकृति सेवा सुरु गर्नेछ र क्रमिक रूपमा ग्राहकलाई कार्ड वितरण पनि गरिनेछ ।
एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक विस्तार सुरु गरिसकेको छ । अन्तर्राष्ट्रिय साझेदार डिस्कभर नेटवर्कमार्फत नेपालपे कार्ड विश्वभर प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । नेशनल पेमेन्ट स्विच सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरूले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशका एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ । साथै, अन्तर्राष्ट्रिय डिस्कभर कार्ड तथा साझेदार कार्ड पनि नेपालमा प्रयोग गर्न मिल्नेछ ।
हाल एनसीएचएलको इएफटी सेवामार्फत १० वटा सदस्य बैंक तथा वित्तीय संस्थाहरूले विभिन्न अन्तर्राष्ट्रिय कार्ड प्रणालीहरू प्रक्रिया गर्दै आएका छन्। इएफटी र नेशनल पेमेन्ट स्विचबीचको एकीकरणपछि अब नेपालपे कार्ड पनि प्रक्रिया गर्न सकिने भएको हो। अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरू पनि नेपालपे कार्ड स्वीकृति र जारी गर्ने तयारीमा छन्। हालसम्म ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपेमा आबद्ध भइसकेका छन् र कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्।
माछापुछ्रे बैंकले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले डिजिटल रूपान्तरणतर्फ ध्यान दिँदै आन्तरिक प्रणाली र ग्राहक सेवामा तीव्र सुधार गरिरहेको छ । देशभर बैंकका १६५ शाखा, १२ विस्तारित काउन्टर, ८८ शाखारहित बैंकिङ सेवा र १९९ एटीएम सञ्चालनमा छन् । बैंकसँग हाल ४ लाखभन्दा बढी कार्ड प्रयोगकर्ता ग्राहक रहेका छन् ।











प्रतिक्रिया