फेरिएको राजनीतिको मार्गचित्र : संगठनको ‘पिँजडा’ कि नागरिकको ‘पहिचान’ ?

470
Shares

एक्काइसौं शताब्दीको यो कालखण्डमा विश्वको गति मात्र फेरिएको छैन, मानिसको चेतना र अपेक्षाको क्षितिज पनि बदलिएको छ । तर विडम्बना ! हाम्रो राजनीति र सामाजिक संगठनका संरचनाहरू भने अझै पनि त्यही पुरानो ‘झोले’ मानसिकताको धमिराले खोक्रो भइरहेका छन् । आजको आवश्यकता कुनै झन्डा बोक्ने भीड होइन, एउटा यस्तो मार्गचित्र हो जहाँ व्यक्तिले आफ्नो योग्यता, क्षमता र निष्पक्षताका आधारमा बाँच्न पाओस् ।

पुराना संरचना र नयाँ पुस्ताको टकराव ः
हामी एउटा यस्तो समयमा छौं, जहाँ समयको द्रुत गतिसँगै मानिसहरू पुराना र मक्किएका संगठनको ओत लाग्न छोडिसकेका छन् । अबको राजनीति कुनै दलको आडमा गरिने ‘हुकुमी शासन’ होइन, बरु काम गरेर देखाउने ‘परिणाममुखी सुशासन’ हुनुपर्छ । नातावाद र कृपावादको जगमा ठडिएका राजनीतिक टावरहरू अब ढल्ने निश्चित छ ।

जनतासँग प्रत्यक्ष जोडिएका, उनीहरूको दुःखमा सारथी बन्ने र समाजलाई ठोस योगदान दिने व्यक्तिहरू मात्र अबको नेतृत्वको माथिल्लो तहमा पुग्नेछन् । मानिसलाई अब कुनै खोक्रो आदर्श वा पार्टीको विधानले होइन, बरु हातमा रोजगारी र समाजमा कानुनी राज्यको प्रत्याभूति दिने नेतृत्वले आकर्षित गरिरहेको छ ।

विद्यार्थी राजनीतिको कुरूप तस्वीर ः
कुनै समय विद्यार्थी संगठनहरू परिवर्तनका संवाहक थिए, तर आज ती केवल बार्गेनिङका थलो बनेका छन् । तीस–पैंतीस वर्षसम्म पनि ‘विद्यार्थी’ को खोल ओढेर कलेजमा रजाइँ गर्ने र पदको लोभमा विद्यार्थीको वास्तविक मुद्दालाई तिलाञ्जलि दिने प्रवृत्तिका दृश्यहरू अझै हाम्रा आँखामा ताजै छन् ।

साझा विद्यार्थीको आवाज उठाउनुपर्ने संगठनहरू आफ्नै पार्टीको भजन गाउन र व्यक्तिगत स्वार्थका लागि सिट सुरक्षित गर्न व्यस्त छन् । जहाँ ज्ञानको खोजी हुनुपर्ने हो, त्यहाँ सत्ताको लेनदेन भइरहेको छ । यस्तो परिवेशबाट जन्मिएको नेतृत्वले देशलाई कस्तो मार्गचित्र देला ? यो गम्भीर प्रश्न हो ।

व्यावसायिक मर्यादा र राजनीतिको घेराबन्दी ः
राजनीतिले विद्यार्थीलाई मात्र होइन, व्यावसायिक जगतलाई पनि आफ्नो चंगुलमा पारेको छ । एउटा वकिल, जसको धर्म नै विधि र न्यायको रक्षा गर्नु हो, ऊ आज कानुनको बहस छोडेर कुन गुटको ‘अंक गणना’ मा आफ्नो भविष्य सुरक्षित देख्छ ?

व्यावसायिक संगठनहरू आज न्याय र मर्यादाको रक्षा गर्ने थलोभन्दा पनि शक्तिको खेल (पावर प्ले) र ‘जी–हजुर’ गर्ने केन्द्रमा परिणत भएका छन् । दक्षता र अनुभवभन्दा पनि कसको हात माथि छ भन्ने कुराले पेसागत सफलता निर्धारण हुने अवस्था लोकतन्त्रका लागि घातक छ ।

मेरो माग– स्वतन्त्रता र निष्पक्षता ः
म र मजस्ता हजारौं व्यक्तिहरू आज एउटै स्वरमा भनिरहेका छौं– मलाई कुन पार्टीको हो भनेर नसोधियोस् । म एउटा विद्यार्थी हुँ, मेरो हकका लागि कोही लडियोस्, तर त्यसको पछाडि कुनै राजनीतिक दलको स्वार्थ नहोस् । म एउटा कानुन व्यवसायी हुँ, मेरो पेसालाई मर्यादा र नैतिकताको कसीमा जोखियोस्, कुनै पार्टीको सदस्यताको आधारमा होइन ।

हामी स्वतन्त्र भएर बाँच्न चाहन्छौं । हामी निष्पक्ष भएर आफ्नो पेसा गर्न चाहन्छौं । हामीलाई विचारधाराको नाममा विभाजित गरेर कुनै एउटा विचारको सीमाभित्र कैद नगर्नुहोस् । हाम्रो चाहना स्पष्ट छ– ‘मलाई नचलाऊ, म उड्न चाहन्छु, मलाई संगठनको पिँजडामा कैद गर्न नखोज ।’

निष्कर्ष ः
अबको राजनीति र नेतृत्वले मानिसलाई ‘कार्यकर्ता’ मात्र देख्ने चस्मा बदल्नुपर्छ । जबसम्म नागरिकले आफूलाई कुनै दलको ट्यागविना सुरक्षित र सम्मानित महसुस गर्दैन, तबसम्म देशले समृद्धिको बाटो पक्रन सक्दैन । फेरिएको राजनीतिको मार्गचित्रले प्रत्येक नागरिकलाई उसको पेसागत स्वतन्त्रता, योग्यता र स्वाभिमानको सुनिश्चितता दिनै पर्छ । अन्यथा, यो २१ औं शताब्दीको तीव्र प्रवाहले यस्ता संकुचित संगठन र पुरातन सोचलाई इतिहासको गर्तमा पु¥याइदिने निश्चित छ ।