ब्याडमिन्टनको संसारमा दर्जनौं पटक स्वर्ण जित्ने तथा आफ्नो अग्लो कद र अजेय खेलका कारण विपक्षीका लागि एउटा अभेद्य किल्ला मानिने ‘शान्त प्रतिस्पर्धी ड्रागन’ अर्थात् भिक्टर एक्सेलसनले अन्ततः खेल जीवनको ¥याकेट बिसाएका छन् । डेनमार्कका यी ३२ वर्षीय सुपरस्टार, जसले वर्षौंसम्म एसियाली खेलाडीहरूको दबदबा रहेको ब्याडमिन्टन कोर्टमा एक्लै युरोपको झण्डा फहराइरहे, उनलाई आफ्नै शरीरले भने साथ दिएन ।
कम्मरको गम्भीर चोटसँग लामो समयसम्म लडेका एक्सेलसनले शल्यक्रिया र अथक प्रयासका बाबजुद पनि दुखाइ कम नभएपछि गह्रौँ मनका साथ सन्यासको घोषणा गरेका हुन् । सन् २०२५ को अक्टोबर महिनामा आफ्नै घरेलु मैदान ‘डेनमार्क ओपन’ मा अन्तिम खेल खेलेका यी महान् खेलाडीको बिदाइले विश्व ब्याडमिन्टन जगतमा एउटा प्रभावशाली युगको अन्त्य गरिदिएको छ ।
भिक्टरको यात्रा केवल सफलताको कथा मात्र होइन, असम्भवलाई सम्भव बनाउने एउटा दृष्टान्त पनि हो । ६ फिट ४ इन्चका यी खेलाडीले कोर्टमा आफ्नो विशाल उपस्थितिले विपक्षीलाई मनोवैज्ञानिक दबाबमा राख्थे । टोकियो २०२० मा एउटै सेट नहारी स्वर्ण जित्नु र पेरिस २०२४ मा थाइल्याण्डका कुनलावुत वितिदसार्नलाई २१–११, २१–११ को सोझो सेटमा स्तब्ध पार्दै लगातार
दोस्रो स्वर्ण पदक सुरक्षित गर्नु उनको करियरको सबैभन्दा यादगार क्षण बन्यो ।
ओलम्पिक इतिहासमा पुरुष सिंगल्सतर्फ लगातार दुई पटक स्वर्ण जित्ने पहिलो युरोपेली खेलाडी बनेर उनले आफ्नो नाम इतिहासका पानामा स्वर्ण अक्षरले लेखाइसकेका छन् । रियो २०१६ को कांस्य पदकदेखि सुरु भएको उनको ओलम्पिक यात्रा पेरिसको ऐतिहासिक सफलतासँगै उत्कर्षमा पुगेको थियो ।
एक्सेलसनको सन्यासको निर्णय पछाडि कम्मरको दुखाइ मुख्य कारण बन्यो । पछिल्लो समय चिकित्सकहरूको निरन्तर चेतावनी र नियमित प्रशिक्षण गर्न नसक्ने अवस्था आएपछि उनले ‘ब्याडमिन्टन युरोप’ सँगको गहिरो छलफलपश्चात् यो कठिन निर्णय रोजेका हुन् ।
झन्डै १८३ हप्तासम्म विश्वको नम्बर १ खेलाडी बनेर टेनिसका दिग्गजहरू जस्तै प्रभुत्व जमाएका उनी विश्व ब्याडमिन्टन इतिहासकै तेस्रो लामो समयसम्म शीर्ष स्थानमा रहने खेलाडी हुन् । डेनमार्कको सुखसुविधा छाडेर प्रशिक्षणका लागि दुबई जानु र चिनियाँ खेलाडीहरूलाई उनीहरूकै भाषा मन्दारिनमा जवाफ फर्काउनु उनको सफलताको एउटा रोचक पाटोको रुपमा लिइन्छ । चिनियाँ प्रशंसकले दिएको ‘आन साई लोङ’ अर्थात् शान्त ड्रागनको नामलाई उनले हरेक खेलमा चरितार्थ गरे ।
ऋाफ्नो खेल जीवनमा सन् २०१७ र २०२२ मा विश्व च्याम्पियनसिप तथा तीन पटक युरोपेली च्याम्पियनसिपको उपाधि जितेका एक्सेलसनले ब्याडमिन्टनलाई नयाँ परिभाषा दिए । एसियाली वर्चस्व तोड्दै युरोपेली खेलाडीहरूका लागि सम्भावनाको नयाँ ढोका खोल्ने उनी अब कोर्टमा त देखिने छैनन् । तर, उनले स्थापित गरेको कीर्तिमान र छोडेर गएको लेगेसीले आउने पुस्ताका खेलाडीहरूलाई सधैं प्रेरणा दिइरहनेछ । कोर्टको निर्विवाद सुपरस्टारको रूपमा उनको बिदाइले ब्याडमिन्टन प्रेमीहरूलाई स्तब्ध बनाए पनि उनले कोरेको सफलताको मार्गचित्र सधैं सम्झनलायक रहनेछ ।
ओलम्पिक र विश्व च्याम्पियनसिपमा भिक्टर
२०२० टोकियो ः पुरुष एकल (स्वर्ण)
२०२४ पेरिस ः पुरुष एकल (स्वर्ण)
२०१६ रियो दि जेनेरियो ः पुरुष एकल (कांस्य)
विश्व च्याम्पियनसिप
२०१७ ग्लासगो ः पुरुष एकल (स्वर्ण)
२०२२ टोकियो ः पुरुष एकल (स्वर्ण)
२०१४ कोपेनहेगन ः पुरुष एकल (कांस्य)











प्रतिक्रिया