अर्जुनले पूरा गरे ५ सय रन


काठमाडौं ।

ओपनर ब्याटर अर्जुन कुमालले जारी पीएम कपमा ५ सय रन बनाएर नयाँ कीर्तिमान स्थापन गरेको छ । गण्डकी प्रदेशका अर्जुनले कर्णाली प्रदेशविरुद्ध ६ रन मात्रै बनाएपनि कीर्तिमान बनाउन सफल भए । उनी एकै संस्करणमा ५ सय रन बनाउने पहिलो खेलाडी बनेका हुन् ।

जारी प्रतियोगिताअन्तर्गत गण्डकीले अन्तिम खेलमा कर्णालीलाई ९ विकेटले पराजित गरेको हो । यस खेलमा अर्जुनले मात्र ६ रन जोडेसँगैं व्यक्तिगत ५ सय रन पूरा गरे । उनको यस संस्करणको पीएम कपमा कूल ५ सय ४ रन भएको हो । उनको ब्याटिङमा २ शतक २ अर्धशतक पनि सामेल छन् ।

अर्जुनको यो कीर्तिमान तोड्न त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीसँग मात्रै मौका रहेको छ । विनोदले २ शतकसहित ४ सय २ रन बटुलेका छन् । उनी यस सिजनको पीएम कपमा सर्वाधिक रन बनाउने सूचीमा तेस्रो स्थानमा छन् । दोस्रो स्थानमा एपीएफका आसिफ शेख छन् । एपीएफले सबै खेल खेलिसकेकोले ४ सय ५७ रन बनाएका आसिफका लागि ५ सय रन पूरा गर्ने अवसर रहेन ।