कास्की ।
पोखरामा आयोजित दोस्रो पोखरा ओपन एथलेटक्सि मिटमा तीन राष्ट्रिय कीर्तिमान बनेका छन् । ३ हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदा पुरुषतर्फ सोही इभेण्टमा सुदुरपश्चिमका मुकेशबहादुर पालको नाममा कीर्तिमान लेखियो ।
सन्तोषीले ९ मिनेट ४३.१९ सेकेण्डमा दौड पुरा गर्दै ३६ वर्षअघि राजकुमारी पाण्डेको नाममा रहेको कीर्तिमान तोडेकी हुन् । सन १९९० मा पाण्डेले बेइजिङ एशियन गेम्समा ९ मिनेट ४८.१४ सेकेण्डको कीर्तिमानी समय निर्धारित गरेकी थिइन् ।
यस विधामा सन्तोषीले स्वर्ण जित्दा कोशी प्रदेशकी पुष्पा लिम्बुले ११ मिनेट २१.७९ सेकेण्डमा रजत पदक र पश्चिमकी १३ मिनेट ३४.७९ सेकेण्डको समयमा कास्य पदक प्राप्त गरेका थिए ।
पुरुषतर्फको प्रतिस्पर्धामा मुकेशले ८ मिनेट १९.५७ सेकेण्डको समयमा पुरा गर्दै कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले ज्ञानबहादुर बोहराको नाममा रहेको (८ मिनेट २३.५९ सेकेण्ड) कीर्तिमान तोडेका हुन् । एपीएफका रुपेश कार्कीले रजत र नेपाल प्रहरीका नागेश्वर अहिरले कास्य पदक जिते ।
त्यस्तै महिला लङजम्पतर्फ सीमा चौधरीले ५.९७ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । सीमाले आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन् । उनको नाममा यसअघि ५.८३ मिटरको जम्प कीर्तिमान थियो ।
लङजम्पमा सीमाको कीर्तिमानी स्वर्ण जित्दा लालीगुराँस नेशनल एकेडेमीकी अनिशा थारुले ४.८७ मिटर जम्प गर्दै रजत र कास्कीकी स्वता कुमालले ३.९४ मिटर जम्प गरेर कास्य पदकमा चित्त बुझाईन् ।
कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा शीर्ष तीन हुनेले क्रमशः ५, ३ र दुई हजार नगद पुरस्कार प्राप्त गरे ।











प्रतिक्रिया