विनोदले बनाए लगातार दोस्रो शतक


काठमाडौं ।

त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कीर्तिमानी शतक प्रहार गरेका छन् । जनकपुरमा रहेको राम जानकी क्रिकेट मैदानमा आर्मीले कोशी प्रदेशलाई १ सय ८५ रनले हराउँदा उनले कीर्तिमान रचेका हुन् । यो जितसँगैं आर्मी प्रतियोगिताको फाइनलमा पनि पुगेको छ । विभागिय टोलीको फाइनलमा भेट सुदूरपश्चिम प्रदेशसँग हुनेछ ।

विनोदले १ सय ५० बलको सामना गर्दै १ सय ८९ रन बनाएका हुन् । उनले यस खेलमा २१ चौका र ५ छक्का प्रहार गरे । ९१ बलमा शतक प्रहार गर्दै उनी यस प्रतियोगिताको इतिहासमा लगातार दुई शतक प्रहार गर्ने खेलाडीसमेत बने । अघिल्लो खेलमा सुदूरपश्चिमविरुद्ध उनले शतक प्रहार गरेका हुन् ।

यसैगरी विनोद यस प्रतियोगिताको इतिहासमा ५ शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने । एपीएफका आशिफ शेखले ४ शतक प्रहार गरेका छन् भने गण्डकीका अर्जुृन कुमालले ३ शतक प्रहार गरेका छन् ।

आर्मीको ३ सयभन्दा बढी रन
विनोदको शानदार प्रदर्शको सहयोगमा आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ६२ रन बनायो । टोलीका लागि विनोदले शतक प्रहार गर्दा भीम सार्कीले ८० रनको अर्धशतकीय इनिङ खेले । यस्तै, तृतराज दासले ३३ र अर्जुन साउदले ३१ रनको योगदान दिएका थिए । कोशीको बलिङमा विपिन महतोले सर्वाधिक ३ विकेट लिँदा दिपेश कँडेल, रोसन शाह र आशिश मगरले समान १ विकेट हासिल गरेका थिए ।

जवाफमा कोशीले ३६ ओभरमा सबै विकेट गुमाएर १ सय ७७ रन बनाएर पराजय बेहो¥यो । योसँगैं कोशीले प्रतियोगितामा खेलेको सबै ९ खेलमा हार आत्मसात ग¥यो । टोलीका लागि प्रभात राईले सर्वाधिक ३८ रनमा बनाए । आर्मीकोे बलिङमा आकाश चन्दले सर्वाधिक ३ विकेट लिए भने बसिर अहमदले २ विकेट लिए ।

आसिफको २ सय रन
एपीएफ क्लबका आसिफ शेखले जारी पीएम कपमा दोहोरो शतक प्रहार गरेका छन् । उनको २ सय ८ रनको सहयोगमा एपीएफले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ९० को विशाल रन बनायो । यो पीएमकपको इतिहासमा अहिलेसम्मकै उच्चतम स्कोर हो । जवाफमा मधेश प्रदेशले पनि ३ सय १६ रनसम्म बनाउन सफल भएको थियो ।
ओपनर आसिफले १ सय ४२ बलको सामना गरेर १५ चौका र १७ छक्का प्रहार गरे । रिटायर्ट आउट भएका उनी यो प्रतियोगिताको इतिहासमा दोहोरो शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । सातै यो उनको व्यक्तिगत चौथो शतक पनि हो ।
आसिफले यस प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक छक्का प्रहारको कीर्तिमान समेत बनाए । उनले मधेशका बलरहरूविरुद्ध १७ छक्का प्रहार गरेका हुन् । यसअघि उनले नै २०७४ को पीएमकपमा एपीएफविरुद्ध पश्चिमाञ्चलका लागि ११ छक्का प्रहार गरेका थिए ।

आसिफको कीर्तिमानी प्रदर्शनबावजुद उनको टोली एपीएफ फाइनल भने पुग्न सकेन । एपीएफ ११ अंकका साथ तेस्रो स्थानमा रहेर प्रतियागिताको यात्रा समापत ग¥यो । तर, मधेशको भने हारले फाइनल खेल्ने संभावना समाप्त भयो । अझै एक खेल खेल्न बाँकी रहेको मधेशसँग ९ अंक रहेको छ । फाइनल पुगेको सुदूरपश्चिमको १२ अंक रहेको छ ।