मेटलाइफ फाउन्डेसनको ग्लोबल अनुदानबाट नेपालका संस्थालाई सहयोग


काठमाडौँ
मेटलाइफ फाउन्डेसनले आफ्नो कम्युनिटी इम्प्याक्ट ग्रान्ट प्रोग्राम (सिआइजिपी) अन्तर्गत नेपालसहित विभिन्न देशका गैरनाफामुखी संस्थाहरूलाई कुल ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२३ मा सुरु भई २०२५ मा विश्वव्यापी रूपमा विस्तार गरिएको यो कार्यक्रमले खाद्य सुरक्षा, मानसिक स्वास्थ्य, वातावरणीय दिगोपन र सशक्त समुदाय निर्माणजस्ता क्षेत्रमा काम गर्ने संस्थाहरूलाई समर्थन गर्छ ।

यस वर्ष नेपालका दुई संस्थाहरू छनोटमा परेका छन् । सोलुखुम्बुको सोलुचाम परियोजनाले दुई वर्षका लागि १,१०,००० अमेरिकी डलर अनुदान प्राप्त गरेको छ, जसमार्फत ३,००० भन्दा बढी व्यक्तिलाई वातावरणसम्बन्धी तालिम जस्तै फोहोर व्यवस्थापन, वृक्षारोपण र पानी, सरसफाइ तथा स्वच्छता (वाश) कार्यक्रम—प्रदान गरिनेछ ।

त्यस्तै, सोसेक नेपालको सेफ कार्यक्रमलाई दुई वर्षका लागि १,९०,००० अमेरिकी डलर सहयोग दिइएको छ, जसले किसान, युवा र साना व्यवसायहरूका लागि दीर्घकालीन खाद्य सुरक्षा, सुधारिएको कृषि अभ्यास, सीप विकास र आर्थिक दिगोपनमा सहयोग गर्नेछ ।

मेटलाइफ फाउन्डेसनकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टिया होजेसका अनुसार, यो कार्यक्रममार्फत समुदायको समग्र कल्याण सुधार गर्ने संस्थाहरूमा लगानी भइरहेको छ। कार्यक्रम सुरु भएदेखि हालसम्म २०७ संस्थाहरूलाई ९ मिलियन अमेरिकी डलरभन्दा बढी अनुदान वितरण भइसकेको छ, जसबाट विश्वभर १.६ मिलियनभन्दा बढी मानिस लाभान्वित भएका छन् ।