नयाँ दिल्ली ।
श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी यतिबेला छिमेकी देश भारत भ्रमणमा रहेका छन्।
श्रमजीवी पत्रकार संघ हरियानाको सातदिने निमन्त्रणामा उनी भारत गएका हुन्। भ्रमणका क्रममा अध्यक्ष जैसीले श्रमजीवी पत्रकारहरूको पेशागत हकहित, मर्यादा र अधिकारका विषयमा नेपाल र भारतका पत्रकार संगठनहरूबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्। उनले दुई देशका संगठनहरू एउटै मञ्चमा उभिएर दक्षिण एसियाका सबै श्रमजीवी पत्रकारका साझा मुद्दामा काम गर्नुपर्नेमा जोड दिए।
भारत बसाइँका दौरान उनले श्रमजीवी पत्रकार संघ हरियाना र दिल्लीका संगठनका पदाधिकारीहरूसँग भेटघाट तथा छलफल गरिरहेका छन्। उक्त भेटमा पत्रकारहरूको अधिकार, सुरक्षा र पेशागत सुदृढीकरणका विषयमा विचार आदान–प्रदान भइरहेको छ।

अध्यक्ष जैसीले यस भ्रमणलाई दक्षिण एसिया क्षेत्रमै श्रमजीवी पत्रकारहरूको साझा संगठन निर्माण गर्ने पहलका रूपमा पनि महत्त्वपूर्ण भएको उल्लेख गरे। उनले क्षेत्रीय स्तरमा एकीकृत आवाज उठाउन सके पत्रकारहरूको हकहित अझ प्रभावकारी रूपमा संरक्षण गर्न सकिने विश्वास व्यक्त गरे। भारतको राजधानी नयाँ दिल्ली, हरियाणा प्रदेशका जिल्लाहरु पलवल, गोहाना, पटौती, नुहान, रेवरीलगायतका श्रमजीवी पत्रकार र संगठनका पदाधिकारीसँग भेट गरेका थिए।
यो भ्रमणले नेपाल–भारतबीचका पत्रकार संगठनहरूबीच सम्बन्ध अझ सुदृढ बनाउने र भावी सहकार्यका लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको श्रमजीवी पत्रकार संघ हरियाणाका अध्यक्ष डां. इन्दु बंशलले बताइन् ।











प्रतिक्रिया