महेश बस्नेतविरुद्ध कारबाही माग गर्दै दायर रिट खारेज


काठमाडौँ।

एमाले सचिव महेश बस्नेतविरुद्ध अनुसन्धान गरी कारबाही अघि बढाउन माग गर्दै दायर गरिएको रिट उच्च अदालत पाटनले खारेज गरेको छ।

बुधबार न्यायाधीश सोमकान्त मैनाली र केशव प्रसाद अधिकारीको संयुक्त इजलासले शोभा पाठकद्वारा दायर रिटमा मागअनुसार आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै खारेज गर्ने फैसला सुनाएको हो।

पाठकले करिब दुई वर्षअघि बस्नेतमाथि बलात्कारको आरोप लगाउँदै जाहेरी दर्ता गराएकी थिइन्। उक्त जाहेरीमाथि अनुसन्धान गर्दा पर्याप्त प्रमाण नदेखिएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अघि नबढाउने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध उनी उच्च अदालत पुगेकी थिइन्।

पछि पाठकले पूरक जाहेरी दिँदै बलात्कारसँगै भ्रूण हत्या गरेको आरोपसमेत लगाएकी थिइन्। तर, त्यसमा गरिएको अनुसन्धानबाट पनि मुद्दा चलाउन नपर्ने निष्कर्ष निकालिएको थियो।

ती निर्णयहरूविरुद्ध दायर गरिएको पछिल्लो रिटमा अदालतले आवश्यक प्रक्रिया अघि बढिरहेको देखिएकाले थप परमादेश जारी गर्न आवश्यक नभएको उल्लेख गरेको छ। त्यस आधारमा रिट निवेदन खारेज गरिएको अदालतले जनाएको छ।

Skip This