निर्वाचन आयोग र दलहरूबीच छलफल


काठमाडौं ।

निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गरेको छ ।
संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने २९ राजनीतिक दल र आयोगका पदाधिकारीबीच बिहीबार छलफल भएको हो ।
बैठकमा दलका प्रतिनिधिहरूले घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्बद्ध पक्षसँग निरन्तर छलफल गर्न सुझाव दिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रवक्ता भट्टराईका अनुसार निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले शान्ति सुरक्षाको उचित प्रबन्ध गरी राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा खटिने कर्मचारी र मतदातालाई निर्भयपूर्वक सहभागी हुने वातारण बनाउनुपर्नेमा दलका प्रतिनिधिहरूको जोड छ ।

यस्तै, दलहरूले आचारसंहिताको पूर्ण पालना, निर्वाचनलाई कम खर्चिलो बनाउन र विद्यमान विषम परिस्थितिमा हुन लागेकाले सरोकारवालासँग निरन्तर छलफल गर्न आयोगलाई सुझाव दिएका छन् । छलफलमा आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवधिक निर्वाचनभन्दा फरक समय र परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन हुन लागेकाले सबै दलहरूलाई सहभागी हुन आग्रह गर्नुभयो ।

आयोगले पटकपटक सरोकारवालासँग छलफल गरिरहेको बताउँदै उहाँले स्रोत, साधन र शान्ति सुरक्षाको प्रबन्ध गर्न सरकारले प्रतिबद्धता जनाएको दलहरूलाई जानकारी गराउनुभयो ।

निर्वाचनमय वातावरण बनाई कसैले पनि निषेधको राजनीति नगर्न समेत आयोगले सबैको ध्यानाकर्षण गराइसकेको बताउँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले तोकिएको समयमै निर्वाचन हुने विश्वास दिलाउनुभयो । छलफलमा निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधार र सगुन शम्शेर जबरा तथा आयोगका सचिव महादेव पन्थलगायत सहभागी थिए ।