इरानी धम्कीपछि ट्रम्पलाई गोप्य रूपमा विमान फेरियो


वासिङ्टन डीसी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानबाट सम्भावित हत्या प्रयासको खतरा रहेको सूचनापछि गत जुलाईमा टर्कीबाट बेलायत लैजाँदा अमेरिकी सुरक्षा निकायले अत्यन्त गोप्य सुरक्षा अपरेसन सञ्चालन गरेको खुलासा भएको छ।

द वासिङ्टन पोस्टका अनुसार, जुलाई ८ मा टर्कीको अंकाराबाट बेलायत प्रस्थान गर्दा ट्रम्पलाई पुरानो ‘एयर फोर्स वन’ बाट गोप्य रूपमा निकालेर अमेरिकी सैन्य विमान सी–३२एमा सारिएको थियो। उनलाई क्याटरिङ ट्रकको आडमा विमान परिवर्तन गराइएको बताइएको छ।

त्यसपछि ट्रम्प सवार सी–३२ए बेलायतको रोयल एयर फोर्स मिल्डेनहल पुगेको थियो भने पत्रकार तथा कर्मचारी बोकेको पुरानो एयर फोर्स वनलाई ‘डिकॉय’ का रूपमा प्रयोग गरिएको थियो। पुरानो विमानले समेत ‘AF1’ कलसाइन प्रयोग गरेकाले सञ्चारमाध्यम र केही ह्वाइट हाउस अधिकारीसमेत ट्रम्प त्यही विमानमा रहेको ठानिरहेका थिए।

अमेरिकी अधिकारीहरूले इरान र उसका सहयोगी समूहबाट ट्रम्पमाथि निरन्तर खतरा रहेको बताउँदै आएका छन्। नयाँ बोइङ ७४७–८ एयर फोर्स वनमा आवश्यक सुरक्षा प्रणाली पूर्ण रूपमा जडान भइसकेको थियो कि थिएन भन्ने प्रश्नसमेत यो घटनापछि पुनः उठेको छ।

ट्रम्पलाई बेलायत पुगेपछि सी–३२एबाट पुरानो एयर फोर्स वनमा कहिले, कहाँ र कसरी सारियो भन्ने विवरण भने अझै सार्वजनिक भएको छैन। ह्वाइट हाउसले राष्ट्रपतिको सुरक्षाका लागि अत्याधुनिक सुरक्षा प्रोटोकल प्रयोग भइरहेको जनाएको छ।