महानिर्देशकको नाम हटाएर आफैँ कोरिया जाने तयारी

0
Shares

काठमाडौँ ।

पाठ्यक्रम विकास केन्द्रका निर्देशक एवं सूचना अधिकारी पुरुषोत्तम घिमिरेले केन्द्रका महानिर्देशकलाई बाइकट गरेर आफैँ कोरिया जाने निर्णय गराउनुभएको छ । केही दिनअघि महानिर्देशक नभएको मौका छोपेर शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवलाई समेत गुमराहमा राखी निर्देशक घिमिरेसहित केन्द्रका ३ जना कोरिया जाने तयारीमा छन् ।

ग्लोबल सिटिजनसिप फाउन्डेसनको आयोजनामा हुने ग्लोबल सिटिजनसिप एजुकेसन कार्यक्रममा भाग लिन घिमिरेको नेतृत्वमा नेपाली विषय विज्ञ कुमार घिमिरे र सामाजिक अध्ययनविज्ञ रजनी धिमाल जाने हुनुभएको छ । सामाजिक विषयसँग सम्बन्धित फोरम भएको कारण सामाजिक अध्ययनका विज्ञ अनिवार्य जानुपर्ने व्यवस्था छ भने नेपाली विषयको अनिवार्य छैन ।

घिमिरे भने संस्कृत विषयका विज्ञ हुनुहुन्छ । ‘ग्लोबल सिटिजन एजुकेसन भनेपछि सामाजिक विषयसँग मिल्दो भएपछि सामाजिक अध्ययन विषयको विज्ञ अनिवार्य सहभागी हुने व्यवस्था थियो र निर्देशक घिमिरे आफैँ तम्सिनुभएको छ । सो विषयमा जानकारी लिन निर्देशक एवं सूचना अधिकारी घिमिरेसँग जानकारी लिन खोज्दा मोबाइल उठाउनुभएन ।

स्रोतका अनुसार सो फोरममा निर्देशक घिमिरे जानुपर्ने कुनै आवश्यकता र आधार छैन । मन्त्रालयमा सेटिङ मिलाएर आफैँ जान लाग्नुभएको हो । निर्देशक घिमिरेले तत्कालीन महानिर्देशक युवराज पौडेल नभएको मौका छोपेर वरिष्ठको हैसियतमा आफैँ जानुपर्ने जवाफ सचिव चूडामणि पौडेललाई दिनुभएको थियो ।

सो फोरममा सहभागी हुन अनिवार्य रूपमा पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागका महानिर्देशक जानुपर्ने प्रावधान छ । ‘महानिर्देशकको अनुपस्थितमा वरिष्ठतम उपसचिव गणेश पौडेल जानुपर्ने थियो । जबरजस्ती सचिवलाई फकाएर निर्देशक घिमिरेले आफ्नो नाममा सहमति जनाउन लगाउनुभयो’ –केन्द्र स्रोतले भन्यो ।

२९ राष्ट्रको आर्थिक सहयोगमा सञ्चालित फाउन्डेसनमा नेपालले ०७९÷०८० देखि सहभागिता जनाइरहेको थियो । फाउन्डेसनले हरेक वर्ष पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्ने र शिक्षक तालिम दिने प्रयोजनका लागि निरन्तर सहयोग जारी राखेको छ । यो वर्ष अगस्ट २६–२९ सम्म आयोजना हुँदै छ ।

दुई विषयमा सहयोग आदानप्रदान हुँदा महानिर्देशक अनिवार्य हुनुपर्छ । तीन वर्ष अघि केन्द्रका महानिर्देशक सहभागी हुन नसकेपछि सम्झौता रोकिएको थियो । पछि नेपालले महानिर्देशकको हस्ताक्षर गरी सम्झौता गरेको थियो ।

सम्झौताअनुसार पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्न केन्द्र र शिक्षक तालिम गर्न विभागलाई छुट्टाछुट्टै अनुदान दिने व्यवस्था छ । फाउन्डेसनले तीन वर्षसम्मका लागि ५ लाख डलर अनुदान दिने सम्झौता भएको थियो । यो तेस्रो र अन्तिम वर्ष हो । यो वर्ष करिब १ लाख ५० हजार डलर सहयोग आउने सम्भावना रहेको केन्द्रको भनाइ छ । यो रकम तीन शीर्षकमा खर्च हुनेछ ।

कार्यक्रममा पाठ्यक्रम विकास केन्द्र र शिक्षा विभागको सहभागिता हुनुपर्छ । सुरुको वर्ष ०८१÷०८२ मा विभागका महानिर्देशक दीपक शर्मा र केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठको सहभागिता भएको थियो । दोस्रो वर्ष पनि विभागका तत्कालीन महानिर्देशक दीपक शर्मा र सहसचिव शिवकुमार सापकोटाको सहभागिता थियो ।

विभागबाट महानिर्देशक अरुणप्रसाद न्यौपाने र अर्को २ जना कर्मचारी जाने निर्णय भयो । मन्त्रालयले हालै केन्द्रका महानिर्देशकमा महेन्द्र पराजुलीलाई सरुवा गरेको छ । केन्द्रमा नयाँ महानिर्देशकले पदबहाली गरेपछि उहाँ नै सहभागिता हुने सम्भावना छ । उपसचिवलाई कार्यालय प्रमुखको हैसियतमा पठाउनुहँुदैन । अधिकांशले संस्कृत विषयका विज्ञ रहेका घिमिरेले हरेक कार्यक्रममा हस्तक्षेप गर्ने गरेको र यो सहभागिता त्यसैको परिणाम रहेको बताएका छन् ।