काठमाडौं ।
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बती मोहडातर्फको क्षेत्रमा फस्न पुगेका करिब ३५० जना पदयात्रीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुर्याइएको छ।
चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार अन्य दुई सय जनाभन्दा बढी पदयात्रीहरूसँग सम्पर्क भएको र तिनलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने काम अझै बाँकी छ।
सगरमाथाको पूर्वी मोहडातर्फ पर्ने तिब्बती उपत्यकामा शनिबारदेखि निरन्तर परेको भारी हिमपातका कारण सयौँ पर्यटकहरू फसेका हुन्। उक्त क्षेत्रमा हालैदेखि असामान्य मौसमी गतिविधि बढेको जनाइएको छ।
चीनमा यो सप्ताहान्तदेखि आठ दिने राष्ट्रिय बिदा सुरु भएकाले उक्त क्षेत्रमा ठूलो संख्यामा पर्यटक पुगेका थिए। मौसम असामान्य रुपमा बिग्रिएपछि स्थानीय प्रशासन, सुरक्षाकर्मी र उद्धार टोलीलाई परिचालन गरी उद्धार कार्य जारी राखिएको बताइएको छ।
उद्धार कार्यमा चिनियाँ उद्धारकर्मीहरू निरन्तर खटिएका छन्। अहिलेसम्म कसैको ज्यान गएको वा गम्भीर घाइते भएको जानकारी प्राप्त नभएको जनाइएको छ।











प्रतिक्रिया