कुकुरलाई खुसी बनाउन तपाईंको मुस्कान नै काफी!


मानिस मुस्कुराउँदा कुकुरको मस्तिष्कमा के हुन्छ? वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य

कुकुरले मानिसको भावना बुझ्छ भन्ने कुरा धेरै कुकुरप्रेमीले अनुभव गरेकै हुन्छन्। अब वैज्ञानिकहरूले मानिस मुस्कुराउँदा वा रिसाएको देखिँदा कुकुरको मस्तिष्कभित्र वास्तवमा के हुन्छ भन्ने रहस्यसमेत पत्ता लगाएका छन्।

अस्ट्रियाको भियना विश्वविद्यालयका वैज्ञानिकहरूले १४ वटा कुकुरमा गरेको अध्ययनका क्रममा उनीहरूलाई विभिन्न मानिसका अनुहारका तस्बिर देखाइएको थियो। तस्बिर हेर्दा कुकुरहरूलाई विशेष मस्तिष्क परीक्षण यन्त्रभित्र स्थिर बसाइएको थियो।

अनुसन्धानका क्रममा मानिसको खुसी र मुस्कुराएको अनुहार देखाउँदा कुकुरको मस्तिष्कको आनन्द तथा पुरस्कारसँग सम्बन्धित भाग अत्यधिक सक्रिय भएको पाइयो।

यो मस्तिष्कीय भाग मानिसमा पनि मनपर्ने खाना खाँदा, प्रशंसा पाउँदा वा कुनै सुखद अनुभव हुँदा सक्रिय हुन्छ। कुकुरमा पनि स्वादिलो खानेकुराको अपेक्षा गर्दा वा परिचित मानिसको गन्ध पाउँदा यही भाग सक्रिय हुने यसअघिका अध्ययनले देखाएका थिए।

अनुसन्धानकर्ताका अनुसार अझ रोचक कुरा के पाइयो भने कुकुरले अपरिचित मानिसको खुसी अनुहारसमेत सकारात्मक रूपमा लिने गर्छ।

वैज्ञानिकहरूले कुकुरलाई खुसी, रिसाएको, डराएको र दुःखी मानिसका अनुहार देखाएर उनीहरूको प्रतिक्रिया पनि अध्ययन गरे। तर मस्तिष्कको पुरस्कारसँग सम्बन्धित भाग खुसी अनुहार देखाउँदा मात्र स्पष्ट रूपमा सक्रिय भयो।

अनुसन्धानमा संलग्न राउल हर्नान्डेज पेरेजका अनुसार कुकुरले मानिसको सकारात्मक भावना र अन्य भावनाबीच फरक छुट्याउन सक्छ। तर रिस, डर र दुःखजस्ता विभिन्न नकारात्मक भावनालाई भने उनीहरूले एकअर्काबाट स्पष्ट रूपमा छुट्याउन नसक्ने देखिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार हजारौं वर्षदेखि मानिससँगै बस्दै आएको कारण कुकुरको मस्तिष्कमा मानिसको भावना बुझ्ने क्षमता विकास भएको हुन सक्छ। मानिसभन्दा पूर्ण रूपमा फरक विकासक्रमबाट आएको भए पनि मानिससँगको लामो सहअस्तित्व र घरपालुवाकरणले कुकुरलाई मानिसको व्यवहार बुझ्न र सहकार्य गर्न सक्षम बनाएको उनीहरूको भनाइ छ।

अध्ययनमा संलग्न वैज्ञानिक लाउरा कुआयाका अनुसार मानिसले कुकुरलाई खुसी बनाउन स्वादिलो खानेकुरा मात्र दिनुपर्छ भन्ने छैन। मानिसको मुस्कान र सकारात्मक व्यवहारले पनि कुकुरलाई आनन्द दिन सक्छ।

उनले मानिसलाई आफ्ना मात्र नभई बाटोमा भेटिने कुकुरतर्फ पनि मुस्कुराउन सुझाव दिएकी छन्।

वैज्ञानिकहरूको यो अध्ययनले मानिस र कुकुरबीचको हजारौं वर्ष पुरानो सम्बन्ध केवल साथमा बस्ने सम्बन्ध नभई भावनात्मक रूपमा पनि निकै गहिरो रहेको देखाएको छ।