फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपालको शानदार प्रदर्शन, १७ अवार्ड जित्न सफल


काठमाडौँ।

फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपाली एजेन्सीहरूले उत्कृष्ट प्रदर्शन गर्दै कुल १७ वटा अवार्ड जितेका छन्। आउटरीच नेपाल, लेमन र डिजिटल इनले मात्रै १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्जसहित १७ अवार्ड हात पारेका हुन्।

नयाँ दिल्लीस्थित ताज भिभान्त, द्वारकामा अगस्ट ७ मा आयोजित विशेष समारोहमा विजेता एजेन्सीहरूलाई अवार्ड प्रदान गरिएको हो। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका लागि तयार गरिएका प्रभावशाली मार्केटिङ तथा क्रिएटिभ क्याम्पेनले नेपाली एजेन्सीलाई अवार्ड दिलाएका हुन्।

रुरल मार्केटिङ एसोसिएसन अफ इन्डिया (RMAI) ले आयोजना गर्दै आएको फ्लेम अवार्ड्स एशियाले भारतसहित एशियाका उदीयमान बजारमा उत्कृष्ट मार्केटिङ तथा कम्युनिकेसन कार्यलाई सम्मान गर्दै आएको छ। उपभोक्ता अन्तर्दृष्टि, नवीनता, सिर्जनशीलता, प्रविधि, समुदायसँगको संलग्नता तथा मापनयोग्य प्रभावका आधारमा उत्कृष्ट कामलाई अवार्ड प्रदान गरिन्छ।

यस वर्ष नेपालका पाँच एजेन्सीले विभिन्न विधामा अवार्ड जितेका छन्। आउटरीच नेपाल, लेमन र डिजिटल इनसँगै स्टर्म कम्युनिकेसन नेपाल र एमएम ल्याब्सले पनि विभिन्न विधामा सफलता हासिल गरेका छन्।

फ्लेम अवार्ड्स एशियामा नेपाल, भारतलगायत दक्षिण एसियाका अग्रणी एजेन्सी तथा संस्थाबीच भएको प्रतिस्पर्धामा नेपाली एजेन्सीहरूले प्राप्त गरेको यो सफलता महत्वपूर्ण मानिएको छ। यसले नेपाली मार्केटिङ, क्रिएटिभ तथा डिजिटल क्षेत्रका एजेन्सीहरू क्षेत्रीय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको देखाएको छ।

यस वर्षको जुरीको नेतृत्व थिंक कन्ज्युमर टेक्नोलोजिजका संस्थापक तथा निर्देशक सन्तोष देसाइले गरेका थिए। भारत, बंगलादेश, नेपाल, भियतनाम, फिलिपिन्स र श्रीलंकालगायत विभिन्न देशका ४० भन्दा बढी जुरी सदस्यले अवार्डका लागि प्राप्त प्रविष्टिहरूको मूल्यांकन गरेका थिए। अवार्डको पारदर्शिता र शुद्धता कायम गर्न अर्न्स्ट एन्ड यङ (EY) ले ट्याबुलेसन पार्टनरका रूपमा भूमिका निर्वाह गरेको थियो।

आउटरीच नेपालका संस्थापक तथा एडभर्टाइजिङ एसोसिएसन अफ नेपाल (AAN) का प्रथम उपाध्यक्षले नेपालको उपलब्धि नेपाली मार्केटिङ कम्युनिकेसन्स उद्योगका लागि गौरवको विषय भएको बताएका छन्। उनले नेपाली उद्योगमा रहेको प्रतिभा, सिर्जनशीलता र महत्वाकांक्षाको पहिचानका रूपमा यस सफलतालाई व्याख्या गर्दै टिम, ग्राहक तथा साझेदारहरूको सामूहिक प्रयासबाट उपलब्धि सम्भव भएको उल्लेख गरे।

फ्लेम अवार्ड्स एशिया २०२६ मा नेपाली एजेन्सीहरूको सफलताले क्षेत्रीय मञ्चमा नेपाली क्रिएटिभ, डिजिटल तथा एक्टिभेसन क्षेत्रको क्षमता प्रस्तुत गरेको छ। साथै, नयाँ पुस्ताका क्रिएटिभ तथा मार्केटिङ प्रोफेसनलमा रहेको प्रतिभा र सम्भावनालाई समेत यस उपलब्धिले उजागर गरेको छ।

नेपालले यस वर्ष १७ अवार्ड, १३ गोल्ड, ३ सिल्भर र १ ब्रोन्ज जित्दै फ्लेम अवार्ड्स एशिया २०२६ मा आफ्नो प्रभावशाली उपस्थिति जनाएको छ।