नाइमा मोबिलिटी एक्स्पोमा टाटाका नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२ लाख ९९हजार मै


काठमाडौँ।

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। कम्पनीले एक्स्पोको अवसर पारेर नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा ल्याएको हो।

नयाँ पञ्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। तर, एक्स्पो अवधिमा बुकिङ गर्ने ग्राहकले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।

एक्स्पोमा पञ्च ईभी र टियागो ईभी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा पछिल्लो प्रविधिमा आधारित विद्युतीय सवारीसाधन भित्र्याउन कम्पनी प्रतिबद्ध रहेको बताए। नयाँ पञ्च ईभी र टियागो ईभीको सार्वजनिकले कम्पनीको विद्युतीय सवारीसाधनप्रतिको प्रतिबद्धता थप स्पष्ट भएको उनको भनाइ थियो।

उनका अनुसार दुवै मोडल फरक–फरक ग्राहकको आवश्यकता र प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको छ।

सिप्रदीले विद्युतीय सवारीसाधनको बिक्रीसँगै आवश्यक पूर्वाधार विस्तारमा पनि जोड दिँदै आएको जनाएको छ। कम्पनीका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले ईभी प्रयोगकर्तालाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले चार्जिङ तथा सर्भिस नेटवर्क विस्तार भइरहेको बताए।

कम्पनीका अनुसार हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।

पञ्च ईभीमा दुई ब्याट्री विकल्प

नयाँ पञ्च ईभी अत्याधुनिक ‘एक्ट.ईभी’ प्लेटफर्ममा आधारित रहेको कम्पनीले जनाएको छ। यसमा ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टा क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। नेपालमा गरिएको परीक्षणअनुसार यी ब्याट्रीले एकपटक पूर्ण चार्ज गर्दा करिब ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ।

पञ्च ईभीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, ५ स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेसलगायतका सुविधा रहेका छन्।

नयाँ टियागो ईभीमा सुरक्षामा जोड

दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले ल्याइएको नयाँ टियागो ईभीमा नयाँ डिजाइन तथा विभिन्न आकर्षक रङ विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ।

टियागो ईभीमा ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्यागलगायतका सुरक्षा तथा प्रविधिमैत्री सुविधा समावेश गरिएको छ।

कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमार्फत नयाँ मोडलका विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण बढ्ने अपेक्षा गरेको छ।