काठमाडौं ।
विदेशी विश्वविद्यालयबाट विद्यावारिधी उपाधि हासिल गरेपछि अधिकांश व्यक्तिहरू अन्तर्राष्ट्रिय करियरलाई प्राथमिकतामा राख्दै विदेशी भूमिमा स्थायित्व खोज्ने गर्छन्। तर, डा. विष्णुप्रसाद गौतमले ‘स्वदेशमै केही गरौँ’ भन्ने संकल्पका साथ नेपाली समाजमा काम गर्दा अनुभूत गरेका डर, चुनौती, अन्तर्द्वन्द्व र निष्कर्षहरूलाई ‘विवेकको फिल्टर’ नामक गैरआख्यान कृतिमा मूर्त पारेका छन्।
यो पुस्तकमा इञ्जिनियरिङ पृष्ठभूमिको विश्लेषणात्मक सोच, राष्ट्रप्रेम, र समाजप्रतिको संवेदनशील दृष्टिकोणलाई सुव्यवस्थित, सुलभ र प्रवाहपूर्ण शैलीमा प्रस्तुत गरिएको छ।
कोभिड–१९ ले मास्कमार्फत वायुमार्गबाट भाइरस छानेझैं, मानव चेतनामा विवेकले विचार र प्रवृत्तिको छनोट गरी सहीलाई भित्र्याउन र गलतलाई रोक्न सक्छ भन्ने अवधारणालाई पुस्तकको मूल धारणाका रूपमा प्रस्तुत गरिएको छ। दीर्घकालीन निर्णय, आत्मसंशोधन र समाज रूपान्तरणको यात्रामा विवेकको फिल्टर अपरिहार्य उपकरण हो भन्ने लेखकको दृढ विश्वास छ।
व्यक्तिगत स्तरदेखि राष्ट्रिय नीतिसम्म विवेकको प्रयोगले सोच, शैली, संस्कार र निर्णय प्रक्रियामा कति परिवर्तन सम्भव छ भन्ने स्पष्ट मार्गदर्शन पुस्तकले दिन खोजेको छ। सरल भाषा, परिपक्वता र विश्लेषणात्मक प्रवृत्तिले यो कृति युवा, कर्मचारी, शिक्षक, योजनाकार र नीतिनिर्माताका लागि समेत सान्दर्भिक बनाएको छ। यो पुस्तक पाठकका लागि आत्ममूल्यांकनको ऐनाजस्तै देखिएको छ । यसमा ‘के म आफ्नै सोचमा विवेकको फिल्टर लगाइरहेछु ?’ निरन्तर प्रश्न गरिएको छ ।
‘विवेकको फिल्टर केवल पुस्तक होइन, यो नैतिक मूल्य, स्वअनुशासन र सामाजिक रूपान्तरणको एक आन्तरिक आह्वान हो। परिवर्तनको यात्रा आफ्नै ठाउँबाट सुरु गर्न चाहने जो–कोहीका लागि यो ऐना पनि हो ।
इञ्जिनियरको तर्कशील मस्तिष्क र सामाजिक संवेदनशीलतालाई एउटै सूत्रमा गाँस्दै लेखकले युवा पुस्तादेखि नीति निर्मातासम्मलाई विवेकपूर्ण निर्णयको मार्गमा सोच्न बाध्य बनाएका छन् । यो कृतिले पाठकलाई आत्मविश्वास र विवेकलाई रोजगारी, राजनीति, शिक्षा र दैनिक व्यवहारमा कसरी प्रयोग गर्ने भन्ने ठोस सूत्र दिन्छ। यस अर्थमा ‘‘विवेकको फिल्टर’ नेपाली समाजमा दीर्घकालीन चेतना जगाउने दस्तावेज बन्ने सम्भावना अत्यन्त प्रबल देखिन्छ।
डा. गौतमको यो साहित्यिक योगदानले नेपाली समाजलाई अझ विवेकी, उत्तरदायी र आत्मविश्वासी बनाउने दिशामा थप प्रेरणा प्रदान गरेकाले आगामी दिनमा अझ उत्कृष्ट कृतिहरू पस्कने विश्वास गर्न सकिन्छ ।
गुणराज ढकालबाट
प्रतिक्रिया