नेपालमा रक्तसञ्चारको इतिहास र यसको अपरिहार्यता

3.67k
Shares

हरेक वर्ष १४ जुनमा संसारभरका देशले विश्व रक्तदाता दिवस मनाउँछन्, जुन स्वैच्छिक निःशुल्क रक्तदाताहरुलाई, तिनीहरुको जीवन बचाउने योगदानका लागि आभार व्यक्त गर्ने दिन हो । यो अवसरले पनि बिरामीहरुकोे लागि आवश्यक पर्ने सुरक्षित र गुणस्तरीय रक्त तथा रक्तजन्य उत्पादनहरुको उपलब्धता सुनिश्चित गर्न नियमित रक्तदानको निरन्तर आवश्यकतासम्बन्धी जनचेतना बढाउने लक्ष्य राख्दछ । साथै यो दिन राष्ट्रिय स्वास्थ्य संस्था एवं नेपाल रेडक्रस सोसाइटीजस्तै स्वैच्छिक निःशुल्क दाताहरुबाट रक्त संकलन बढाउने र आवश्यक पर्ने सबैका लागि सुरक्षित रक्त तथा रक्तसञ्चार सेवामा पहुँच सुनिश्चित गर्ने उपायहरु बढाउन आह्वान गरिने दिन पनि हो ।

यस वर्ष २०२५ को विश्व स्वास्थ्य संगठनले दिएको अभियानको नारा ‘रक्तदान गरौँ, आशा जगाऔँ, हामी मिली जीवन बाचाऔँं’ रहेको छ । यस वर्ष २०२५ को विश्व स्वास्थ्य संगठनले दिएका मूलभूत उद्देश्यहरु– रक्त र प्लाज्मा दानको गम्भीर आवश्यकता र त्यसले बिरामीहरुको जीवनमा पार्ने प्रभावका बारेमा सार्वजनिक चेतना बढाउने, नयाँ अनि हालका दाताहरुलाई नियमितरुपमा रक्तदान गर्न प्रोत्साहित गर्ने आदि रहेका छन्, जसले स्थिर र पर्याप्त रक्त आपूर्ति सुनिश्चित गर्न मद्दत गर्दछ ।

त्यस्तै रक्तदाताहरुको स्वास्थ्य र अरुको कल्याणमा पारेको सकारात्मक प्रभावलाई उजागर गर्ने, सहानुभूति, करुणा र रक्तदानमार्फत समुदायको भावनाजस्ता मूल्यहरुलाई प्रवद्र्धन गर्ने, सुरक्षित रक्तसञ्चारमा सार्वभौमिक पहुँच प्राप्त गर्नका लागि सरकार र विकास साझेदारहरुबाट राष्ट्रिय रक्तदाता कार्यक्रममा लगानी गर्ने अनि त्यसलाई दिगो बनाउने उद्देश्यहरुसमेत रहेका छन् ।

वि.सं. २००० मा राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालामा वीर अस्पतालका डा. देवव्रत दास गुप्ता सुपरिटेन्डेन्ट भएका समयमा मृत्यु शैय्यामा छटपटाइरहेका रत्नकाजी तुलाधरलाई सर्वप्रथम रक्तदान गरी जीवनदान गरिएको यो नेपालको इतिहासमा पहिलो स्वर्णाङ्कित रक्तदान कार्य हो । त्यस्तै गरेर नेपालका प्रथम रक्तदाता सिस्टर तारादेवी तुलाधरले वि.सं. २०१८ मा एक किड्नी बिरामीलाई पहिलोपटक रक्तदान गर्नुभएको थियो ।

नेपालमा रक्तसञ्चार सेवा संस्थागतरुपमा नेपाल रेडक्रस सोसाइटीले वि.सं. २०२३ श्रावण १२ गते लक्ष्मी ब्लड बैंकको नामवाट शुरुवात गरेको हो । तर ब्लड बैंक स्थापना हुनुभन्दाअघि स्वयंसेवीरुपमा परोपकार संस्थाका संस्थापक अध्यक्ष सेवाका प्रतिमूर्ति स्व. दयावीर सिंह कंसाकारले वि.सं. २००० मा वीर अस्पतालमा रक्तदान गर्नुभएको थियो । नेपालमा स्वयंसेवी रक्तदानको इतिहास ८० वर्ष पुगेको भए तापनि अझै जनचेतनाको कमीलगायत विभिन्न कारणले स्वयंसेवी रक्तदाताको कमी भई बिरामीका आफन्तले सहजरुपमा आवश्यक रगत व्यवस्थापन गर्न सकिरहेको थिएन ।

त्यस समयमा पेसेवर रक्तदाता भरिया वा अन्य व्यक्तिहरुबाट रगत खरिद–बिक्री हुने गरिन्थ्यो । त्यस्तो पेसेवर रक्तदाताहरुबाट प्राप्त रगत स्वच्छ तथा स्वस्थ नहुनेतर्फ सचेत भई स्वयंसेवी रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संघसंस्थाको प्रतिनिधीहरुको सक्रियतामा वि.सं. २०४४ मा ब्लड डोनर्स क्लबको स्थापना भई शरद कासाःको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो ।

वि.सं. २०४४ मा ब्लड डोनर्स क्लब तदर्थ समिति गठन भई, सो पश्चात् वि.सं. २०४६ मा ब्लड डोनर्स क्लब पूर्णरुपमा स्थापना भयो । करिब ३ वर्षपछि ब्लड डोनर्स क्लबको नाम परिवर्तन गरी वि.सं २०४९ मा आएर यसलाई ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) मा रुपान्तरण गरियो । ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) स्थापनापश्चात् नेपाल सरकारद्वारा निर्दिष्ट गरिएको राष्ट्रिय रक्त नीतिको राष्ट्रव्यापी कार्यान्वयनसहित राष्ट्रिय रक्त कार्यक्रमलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटीलगायत सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुसँग सहकार्य गर्दै कुनै पनि उपचारको क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहजरुपमा स्वच्छ, स्वस्थ रगत शतप्रतिशत शोधभर्ना उपलब्ध गराउने वातावरण बनाउँदै लैजाने महान् उद्देश्यले स्वयंसेवी रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने संघसंस्थाहरुको छाता संगठनको रुपमा विगत ३ दशकदेखि निरन्तररुपमा अघि बढ्दै आइरहेको ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) स्वयंसेवी संस्था हो ।

रगतको अभावमा कुनै पनि बिरामीको अकालमा मृत्यु नहोस् भन्ने मूल नारालाई सार्थक बनाउन ‘विनाशोधभर्ना रगत उपलब्ध गराऔँ, स्वयंसेवी रक्तदान अभियानमा सरिक होऔँ’ भन्ने आह्वानका साथ रगत तथा रक्तदानको क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै सक्रिय रुपमा लाग्दै आइरहेको एक गैरनाफामूलक तथा आयकर छुट प्राप्त सामाजिक संस्था हो ब्लोदान । इन्टरनेसनल फेडरेसन अफ् ब्लड डोनर अर्गनाइजेसन (आईएफ्बीडीओ) को नेपालको तर्फबाट सदस्यता प्राप्त संस्था हो यो । साथै राष्ट्रिय निर्देशक समिति, राष्ट्रिय रक्तसञ्चार नीति, राष्ट्रिय रक्तसञ्चार ब्यूरो सदस्य र रक्त व्यवस्थापन समिति परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सदस्यता आबद्धता रहेको संस्था पनि हो ।

यस संस्थाले अन्तरक्रिया, विद्यालय स्तरीय चित्रकला, वक्तृत्वकला, निबन्ध प्रतियोगिता, रक्तदान, जनचेतना ¥याली, अभिमुखीकरणजस्ता जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । प्रचारप्रसार, प्रकाशनसहित उत्प्रेरणात्मक कार्यक्रमहरु– रक्तदाताहरुलाई डोनर पिनबाट सम्मान, संघसंस्थाहरुलाई लाइफ सिल्डबाट सम्मान, विश्व रक्तदाता दिवस आदि कार्यक्रमका साथै संस्थागत विकासअन्तर्गत फ्रेन्डस अफ् आरएच नेगटिभ ब्लड ग्रुप, क्लब २५ नेपाल, जिल्ला शाखा गठन, दोस्रो क्षेत्रीय इकाइहरु गठनजस्ता कार्य पनि गरिआएको छ ।

अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता, वेबसाइटको स्थापना, राष्ट्रिय रक्तदाता दिवस, प्रथम अन्तर्राष्ट्रिय रक्त सम्मेलन २०७० जेठ ३०–३१, साथै २०८० फागुन २६–२७ गते स्वयंसेवी रक्तदाता अभिवृद्धि गरौँ भन्ने विषयमा दोस्रो अन्तर्राष्ट्रिय रक्त सम्मेलन आदि सम्पन्न भइसकेका छन् । उक्त सम्मेलनमा रक्तदान गर्ने संघसंस्थाहरुको अन्तर्राष्ट्रिय महासंघ, सार्क सदस्य राष्ट्रहरु तथा नेपालमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

हाल नेपालमा रगतको माग र आपूर्ति सन्तुलन नभएको विषय पत्रपत्रिकामा बेलाबेलामा खबर आइरहन्छ । यसको समाधानका लागि ब्लोदान विभिन्न कार्यक्रम गरी रगतको अभाव हटाउन प्रयासरत छ । रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्थाहरुको संख्यामा वृद्धि भएको अनुभूति भएको छ । तथ्यांकले देखाएअनुसार रक्तदान गर्ने संस्थाको संख्या र रक्तदाताहरु बर्सेनि वृद्धि भइरहेको छ । तर पनि मागअनुसार रगतको अभाव देखिन्छ । रगत तत्व बनाउन ताजा रगतको आवश्यकता पर्दछ तर हरेक दिन रक्तदान हुँदैन । रक्तदान धेरैजसो बिदाका दिन तथा शनिबार हुने प्रचलन छ । स्वयंसेवी रक्तदान कार्यक्रम सञ्चालन गर्ने रक्तसञ्चार सेवा (ब्लड बैंकहरु) र नेपाल सरकारबाट ठोस कार्ययोजना नहुनुका साथै सम्पूर्ण जिम्मेवारी स्वयंसेवी रक्तदान गर्ने संस्थालाई थोपर्नु यसको मूल कारण हो ।

स्थापनाकालदेखि हालसम्म नेपाल रेडक्रस सोसाइटीले नेपालमा रक्तसञ्चार सेवा सञ्चालन गर्दै आइरहेको छ । हाल नेपालमा राष्ट्रिय नीति २०७० ले रक्तसञ्चार सेवालाई व्यवस्थित गर्न राष्ट्रिय रक्तसञ्चार कार्यक्रमअन्तर्गत नेपाल सरकारले नियमन निकायको रुपमा स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई केन्द्र बनाई राष्ट्रिय रक्तसञ्चार ब्यूरोको गठन गरेको छ, जुन स्वागतयोग्य छ । यस ब्यूरोमार्फत राष्ट्रिय रक्त कार्यक्रममा राज्यको सहभागिता देखिएको छ । तर हालसम्म यो ब्यूरो त्यति प्रभावकारीरुपमा देखिएको छैन । यो जुन उद्देश्यले स्थापना गरिएको छ, यसले पूर्णता पाउनुपर्दछ, नकि अन्य सरकारी निकायजस्तो ब्यूरो पनि सरकारी कार्यालयका केही कर्मचारीलाई जागिर खाने ठाउँ नबनोस् ।

देशमा देखिएको रगतको अभाव कुनै ठूलो समस्या होइन, यो समस्या समाधान गर्न धेरै सजिलो छ । सम्बन्धित सरोकारवालाले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने यसको राम्रो समाधान गर्न सकिन्छ । उदाहरणका लागि सरोकारवालाको बीचमा समन्वयात्मक कार्ययोजना हुने र नेपाल सरकार, नेपाल रेडक्रस सोसाइटीले आफ्नो जिम्मेवारी पूरा गर्ने अनि ब्लोदानले जनचेतना तथा उत्प्रेरणाका थप गतिविधि सञ्चालन गर्ने हो भने देशमा रगतको कहिल्यै अभाव हुँदैन । मानवीय सेवामा रक्तदान कार्यका लागि ब्लड डोनर्स एसोसिएसन नेपालको भूमिका अपरिहार्यता रहेको कुरामा दुईमत नहोला ।