पशुपति अमालकोटमै जुवा अड्डा, संस्कृति महाशाखा प्रमुखसहित सात पक्राउ


काठमाडौं ।

पशुपति क्षेत्र विकास कोष अन्तर्गत श्रीपशुपतिनाथ अमालकोट कचहरीको कार्यालयभित्रै जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका संस्कृति महाशाखा प्रमुख ईश्वरमान भण्डारीसहित सात जनालाई नगदसहित प्रहरीले शनिबार पक्राउ गरेको हो । नेपाल प्रहरीको महानगरीय प्रहरी वृत्त गौशाखाका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सुकदेव खनालले जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् ।

खनालले अभियुक्तमाथि अनुसन्धान कार्य अघि बढाइएको बताएका छन् । ‘पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । शनिबार बिदा भएकाले आइतबारदेखि आवश्यक कानुनी प्रक्रिया अघि बढ्छ,’ उनले भने।

यसैबिच, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले अमालकोट कचहरीभित्रै जुवातास खेल्नेहरू पक्राउ परेको सूचना आफूले पाएको बताएका छन् । डा. थापाले प्रहरी अनुसन्धान सकिएपछि कोषको कर्मचारी सेवा नियमावलीअनुसार कारबाही अघि बढाइने प्रस्ट पारेका छन् ।

‘सात जनामध्ये को दोषी को निर्दोष भन्ने कुरा प्रहरी अनुसन्धानपछि थाहा हुने नै छ । कोषको आफ्नै नियमावली छ । पशुपतिनाथ मन्दिर परिसरमै जुवातास खेल्नेमाथि नियमावलीअनुसार कारबाही हुन्छ,’ डा.थापाले भने ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।