काठमाडौं ।
सरकारले १२ कक्षापछि सञ्चालनमा ल्याउन लागेको जनरल नर्सिङ कार्यक्रम दुई वर्षको नभई तीन वर्षको हुने विज्ञहरूले बताएका छन् ।
आइतबार स्वास्थ्यखबर फाउन्डेसनको आयोजना र मनास्लु इन्टरनेसनल सर्भिसको सहयोगमा सञ्चालित एक कार्यक्रममा चिकित्सा शिक्षा आयोग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नर्सिङ एसोसियसन, चिकित्सा शिक्षा आयोगलगायत सरोकारवालाहरूले जनरल नर्सिङ कार्यक्रम तीन वर्षको हुने बताएका हुन् ।
‘नर्सिङ शिक्षामा सुधार: जनरल नर्सिङ कार्यक्रम सही कदम हो’ शीर्षकमा आयोजित कार्यक्रममा आयोगकी निर्देशक प्राडा सरला श्रेष्ठले विज्ञहरू सहभागी कार्यदलले दिएको सुझाब र त्यसपछि भएका छलफलपछि मिडवाइफ्रीका विषय पनि जनरल नर्सिङ कार्यक्रममा हुने भएकाले आयोगले तीन वर्षको कोर्ष शुरू गर्ने निर्णय गरेको बताउनुभयो ।
श्रेष्ठका अनुसार चिकित्सा शिक्षा आयोगको माघ ३० गते बसेको १७ औँ बैठकले १२ कक्षामा विज्ञान विषय बाहेकका विषय पढेर उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि तीन वर्षे जनरल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । जनरल नर्सिङ कार्यक्रममा मिडवाइफ्री नराख्ने हो भने कम्तिमा दुई वर्षको गर्न सकिने सुझाब आएको थियो । तर, नेपालको परिप्रेक्ष्यमा जनरल नर्सिङमा मिडवाइफ्री विषय पनि राख्ने हो भने दुई वर्षले पुग्दैन तीन वर्ष हुनुपर्छ भनेर तीन वर्षका विषयमा निर्णय भएको जानकारी दिँदै प्राडा श्रेष्ठले भन्नुभयो, –‘प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको १७औँ बैठकले जनरल नर्सिङका विषयमा निर्णय गरेको हो ।’
श्रेष्ठले जनरल नर्सिङ कार्यक्रममा कक्षा १२ मा विज्ञान विषय नपढेका विद्यार्थीले आवेदन दिनसक्ने व्यवस्था रहेको छ । १२ कक्षासम्म विज्ञान पढेकाहरूका लागि चार वर्षीय बिएस्सी नर्सिङ कार्यक्रम छ । विज्ञान भन्दा बाहेकका अन्य बिषय अध्ययन गरेकाहरूका लागि तीन वर्षे एड्भान्स डिप्लोमा इन नर्सिङ कार्यक्रम भनेर जनरल नर्सिङ कार्यक्रम ल्याउन लागिएको हो । जनरल नर्सिङ कार्यक्रम अध्ययन गर्नका लागि प्रवेश परीक्षामा ५० प्रतिशत भन्दा बढी अंक ल्याउनुपर्ने व्यवस्था रहेको छ ।
नर्सिङ विषयका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलकी सदस्य समेत रहेकी स्वास्थ्य मन्त्रालय अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरा निरौलाले जनरल नर्सिङका विषय तीन वर्षकै हुने भन्ने निर्णय भएर आएको जानकारी दिनुभयो ।
कार्यदलले यदि मिडवाइफ्री नपढाउने हो भने नर्सिङका लागि कम्तिमा दुई वर्ष भनेर सुझाब दिएको थियो । अहिले अब चिकित्सा शिक्षा आयोगबाट जसरी पिसिएल नर्सिङमा नर्सिङ र मिडवाइफ्री दुवै विषय पढाइ हुन्छ त्यसैगरी जनरल नर्सिङमा पनि दुवै विषय हुने र यो तीन वर्षको हुने भन्ने नै छ ।’ कक्षा १२ पछि तीन वर्षे जनरल नर्सिङ अध्ययन गरेकाहरूले उक्त कोर्ष सकेपछि थप दुई वर्षे पीबीबीएन कोर्ष गरेमा ब्याचलर तह उत्तीर्ण हुने र त्यसपछि मास्टर्स अध्ययन गर्न सकिने पनि जानकारी दिनुभयो । जनरल नर्सिङ अध्ययन गरेका जनशक्तिलाई सरकारले पीसीएलभन्दा एक तहमाथि वा छिटो स्तरवृद्धि गरेर जानसक्ने पनि उहाँले बताउनुभयो ।
कार्यक्रममा नर्सिङ काउन्सिलकी रजिस्ट्रार शुक्ला खनालले नयाँ कार्यक्रम लागू भएपछि केही क्राइटेरिया थपेर लाइसेन्स दिने प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का सदस्य सचिव महेश भट्टराईले नेपालको सन्दर्भमा अहिले नै पीसीएल कोर्ष फेजआउट गर्ने समय नआएको बताउनुभयो । उहाँले सीटीईभीटीको नर्सिङ कार्यक्रम अझै १०–१५ वर्ष फेजआउट गर्न बेला नआएको टिप्पणी गर्नुभयो ।
नेपाल नर्सिङ संघकी अध्यक्ष चन्द्रकला शर्माले जनरल नर्सिङ कार्यक्रमका विषयमा थप बहस र छलफल आवश्यक रहेको जिकिर गर्दै अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि मास्टर्स पढ्नका लागि कम्तिमा पनि १६ वर्षको अध्ययन खोजिने बताउनुभयो । प्लस टु सकेपछि तीन वर्ष अध्ययन गर्दा पनि १५ वर्ष मात्रै हुन्छ, दुई वर्षको जनरल नर्सिङ कार्यक्रमलाई कुन तहमा राख्ने भन्ने सरोकारवालाहरूसँगको एक चरणको छलफल भएर नै जनरल नर्सिङ कार्यक्रम तीन वर्षको हुन पुगेको उहाँले बताउनुभयो ।
संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले जनरल नर्सिङ कार्यक्रमका फाइदा र बेफाइदाका विषयमा गहन छलफल गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
दुई वर्षे विषय कसरी बाहिर आयो ?
जनरल नर्सिङ कार्यक्रम दुई वर्षको भन्ने विषय नर्सिङ विधाका विभिन्न पक्षमा सुझाव सिफारिसका लागि गठित कार्यदलले दिएको सुझाबपछि छलफलमा बाहिर आएको थियो । कार्यदलले नेपालमा पनि १२ कक्षापछि नर्सिङ अध्ययन अध्यापन कार्यक्रम शुरू गर्न सिफारिस गरेको थियो । १२ कक्षापछि शुरू हुने नयाँ कार्यक्रमको नाम ‘जनरल नर्सिङ कार्यक्रम’ राख्न उपयुक्त हुने र यस कार्यक्रमको अवधि दुई वर्षको हुने र यो कार्यक्रम सञ्चालन गर्ने संस्थाको आफ्नै स्वामित्वमा कम्तीमा १०० शैयाको अस्पताल रहेको शिक्षण संस्था हुनुपर्ने पनि कार्यदलको प्रतिवेदनमा उल्लेख छ ।
यो विषय बाहिर आएपछि नर्सिङ संघ लगायतका सरोकारवालाहरूले दुई वर्षे कार्यक्रम नेपालका लागि उपयुक्त नहुने भन्दै सुझाब दिएका थिए । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा जनरल नर्सिङ कार्यक्रम शुरू हुने विषय परेको छ । तर, उक्त कार्यक्रममा जनरल नर्सिङ कार्यक्रम कति वर्षको भन्ने उल्लेख भने भएको छैन ।
जनरल नर्सिङ कार्यक्रम पूर्ण रूपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाइ हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाब पनि कार्यदलले प्रतिवेदनमा दिएको छ । आयोगको गत कात्तिक २१ गतेको निर्णय अनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसको नर्सिङ निर्देशक प्राडा कुन्तादेवी पुनको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन भएको थियो ।
कार्यदलमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष प्रा. सरला केसी, महाराजगञ्ज नर्सिङ क्याम्पसकी प्रमुख प्रा. मुना राना, वीर अस्पताल नर्सिङ क्याम्पस प्रमुख सहप्रा. वन्दना थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सहसचिव हिराकुमारी निरौला सदस्य थिए भने चिकित्सा शिक्षा आयोगकी अस्पताल नर्सिङ प्रशासक भारती शर्मा सदस्यसचिव हुनुहुन्थ्यो ।
प्रतिक्रिया