अन्तर्राष्ट्रिय व्यापार मेलाको १०औँ संस्करण सुरु, उत्पादन र उत्पादकत्व वृद्धि गर्न उद्योगमन्त्रीको सुझाव


काठमाडौं
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को १०औँ संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा सुरु भएको छ । मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको बताउनु भयो ।


उहाँले नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व वृद्धि गरी निर्यात प्रबद्र्धनमा लाग्न आग्रह गर्नुभयो । नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रबद्र्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनुभयो ।


‘हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौँ । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्छ भन्ने मेरो विश्वास छ’ मन्त्री भण्डारीले भन्नुभयो । त्यस्तै हाल संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रबद्र्धनलाई प्राथकितामा राखिएको उहाँको भनाइ छ ।


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताउनु भयो ।