स्वास्थ्य क्षेत्रको सुधारमा गम्भीर बन


चिकित्सकहरु आफ्नो सेवा–सुविधाका लागि सडक आन्दोलनमा उत्रिएको लामो समय भइसक्दा पनि सरोकारवाला निकायले अलमल्याउने खालका वार्ता, सम्झौता, एक–अर्कालाई होच्याउने खालका संवाद गरी नेपालको चिकित्सा क्षेत्रमा अन्योलको वातावरण सृजना गरेको छ ।

यसले गर्दा नेपाली चिकित्सकमा नैराश्यता थपिएको छ । त्यसैले राष्ट्रपति रामचन्द्र पौडेलले सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिई छिटोभन्दा छिटो समस्याको समाधान गरोस् भन्ने धारणा व्यक्त गर्नुभएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को २३ औं वार्षिकोत्सव समारोहमा राष्ट्रपति पौडेलले यसो भन्नुले नेपाली चिकित्सकहरुलाई नेपालमै अवसर सृजना गरी टिकाउनुपर्छ भन्न खोजेको प्रस्ट हुन्छ । नेपाली चिकित्सकहरु धेरै विदेशिएका छन् । विदेशिने क्रमलाई रोक्न सम्बन्धित पक्षले उपयुक्त कदम चाल्न उहाँले जोड दिनु सकारात्मक कुरा हाे ।

राष्ट्रपति पौडेलले नेपाली चिकित्सकले नेपालमै उच्च शिक्षा हासिल गरे पनि यहाँ अवसर नदेखेर विदेशिनु चिन्ताको विषय भएको बताउनुभयो । यसलाई रोक्न उपयुक्त कदम चाल्नसमेत उहाँले आग्रह गर्नुभएको छ । संविधानको भावना अनुरुप आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धिका लागि ध्यान केन्द्रित गर्न सरोकारवाला निकायलाई राष्ट्रपतिले सुझाव दिनुलाई महत्वपूर्णरुपमा लिनुपर्छ । संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकताको सुनिश्चित गरेका छ ।

संविधानको भावना अनुरुप आम नागरिकको स्वास्थ्य सेवामा समान पहुँच पु¥याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न सबैको ध्यान केन्द्रित हुनै पर्छ । राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार हो । संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकहरुकोे पेसालाई सेवाभावको दृष्टिले हेर्नुपर्छ । न्याम्सले हालसम्म गरेको कामको प्रशंसा गर्नै पर्छ । आगामी दिनमा पनि थप सेवा विस्तार गर्न सकोस् । नेपाल र नेपालीका समस्याको समाधानका लागि न्याम्स उपयुक्त थलो बन्न सकोस् ।

नेपालको हरेक तहको शिक्षा विदेशी भूमिको विकासका लागि लक्षित हुँदै गएको अवस्था छ । त्यसैले नेपाल सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी नेपाली भूमिका लागि उपयोगी हुनु जरुरी छ । सरकार रेमिट्यान्सका नाममा युवाशक्तिलाई विदेशी भूमिका लागि उपयुक्त शिक्षा दिँदै छ । नेपाल बनाउने जिम्मा अरु कसैको नभई नेपालीहरुकै हो भन्ने शिक्षा दिई देशको विकासमा युवाशक्तिलाई जागरुक बनाउनुपर्छ । स्वदेशमै काम गर्न चाहने युवाहरुलाई निराश बनाएर विदेशिन बाध्य बनाउने नेपालको सरकारी संयन्त्रलाई पारदर्शी बनाउनेतर्फ सरकारको ध्यान कहिले पुग्छ ? यसो नभएसम्म शिक्षित युवापुस्ताले स्वदेशमै बसेर काम गर्ने वातावरण बन्दैन ।

नेपाल मेडिकल काउन्सिलको पछिल्लो तथ्यांक हेर्दा चिकित्सकको संख्या ४ गुणा बढी दर्ता भए पनि उक्त जनशक्ति कहाँ छ भन्ने विषयमा नेपाल सरकारसँग कुनै तथ्यांक नहुनु दुःखदायी र चुनौतीपूर्ण विषय हो । हुन त न्याम्सले देशको स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान पु¥याएको छ । यता त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुद्वारा नेपालमा उत्पादित नेपाली चिकित्सकलाई नेपालमै दिगो र समयसापेक्ष बनाउने अनि उत्पादित जनशक्तिलाई देशमै टिकाउने विषयमा सरकारकाे गम्भीर ध्यानाकर्षण हुनुपर्छ ।

Skip This