प्रधानमन्त्रीसँगको छलफलपछि शिक्षक महासंघको आकस्मिक बैठक बानेश्वरमा


काठमाडौं ।
नेपाल शिक्षक महासंघले आज बैठक बोलाएको छ। गएराति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलपछि महासंघले बैठक बाेलाइएकाे छ ।

बैठक आज दिउँसो सवा ३ बजे रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वरमा बस्नेछ । महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदीका अनुसार, बैठकमा समसामयिक विषयमा छलफल हुनेछ। उनले फेसबुकमार्फत जानकारी दिएका हुन् ।

बैठकमा राष्ट्रिय समिति, महासंघअन्तर्गतका संस्थाका अध्यक्ष र महासचिव, प्रदेश र जिल्ला आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिवहरूलाई उपस्थित हुन भनिएको छ।

प्रधानमन्त्री ओलीले शिक्षकका जायज माग सम्बोधन गर्न छलफल गर्ने तयारी रहेको जनाएका छन्। उनले सरकार सम्बोधन गर्नसक्ने विषयमा सल्लाह गरेर निर्णय लिने र विद्यालय शिक्षा ऐन जारी गर्न तत्परता देखाउने बताएका थिए ।

दुई घण्टा लामो छलफलमा महासंघले हालको आन्दोलन, शिक्षक–कर्मचारीका माग, र विद्यालय शिक्षा ऐनबारे आफ्नो धारणा राखेकाे थियाे ।