दाउन्नेमा हिलै हिलोले सवारी जामको समस्या

3.1k
Shares

नवलपरासी ।

नवलपरासी पटक पटकको वर्षाले सडक हिलाम्मे भए पछि पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा सवारी जामको समस्या देखिको छ ।

बिहिबार दिउसोको वर्षाले सडक हिलाम्मे हुँदा उकालो चढेर पश्चिम जाने मालबाहक सवारी पटक पटक फस्ने चिप्लने गर्दा सवारी जाम लाग्ने गरेको दुम्किबास प्रहरीले जनाएको छ । त्यसै माथि शुक्रबार बिहान पनि सो क्षेत्रमा पानी परे पछि समस्या झनै थपिएको बताईन्छ ।

यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले विनयी त्रिवेणी गाउँ पालिका २ विश्वकर्मा मन्दिर नजिक पैसठ्ठी मोड र घ्यूखोला स्थित पूर्वपश्चिम राजमार्गमा हिलोका कारण यातायात संचालनमा कठिनाइ भएकोले सवारी चालक तथा यात्रुहरूलाई बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जनाएको छ ।

प्रहरीले सडक हिलाम्मे भए पनि एक तर्फी रूपमा सवारी संचालनमा रहेको बताउदै आएको छ । यात्रुहरूले भने आँफूहरू लामो जाममा फसेको बताएकाछन् । सवारी जामका कारण १४ किमि सडक पार गर्न करिव १० घण्टा लागेको जिल्ला स्थित पत्रकार दिपक भट्टराईले बताए । पूर्व पश्चिम बुटवल नारायणगढ सडक बिस्तार एवं निर्माणको क्रममा हाल दाउन्ने खण्डमा निर्माण कम्पनिले भित्ता काट्ने,वाल लगाउने तथा कल्भर्ट हाल्ने काम गरि रहेको छ ।

दाउन्ने पहाडको जटिल भूगोलमा काम छिटो सक्न चैत २७ देखि ३१ गते सम्म दिउसोमा ११ बजे देखि ३ बजे सम्म सवारी रोकेर निर्माण कार्य गर्ने योजना थियो । सोही योजना अनुसार बैशाख १ गते देखि १५ गते सम्म रातीमा अत्यावश्यक बाहेकका सवारी रोकेर सडकमा काम भईरहदा बैशाख ४ को बर्षाले सडक निर्माण यातायात संचालनमा समस्या आएको हो । २०७५ सालमा ४२ महिनामा काम सक्ने गरि निर्माण थालिएको १ सय १४ किमि लामो यो सडकमा चौतर्फी दवाव पछि निर्माण कम्पनी चाईना स्टेट ईन्जिनियरिङ कर्पोरेशन वर्षा अगावै एक तर्फी भए पनि काम सक्ने गरि निर्माण कार्यमा जुटेको बताईन्छ ।

वर्षौं वर्ष सडक नबन्दा धुलो मैलो र हिलो खेपेर आजित परेका सडक यात्रुले एक तर्फी भए पनि पिच सडकको सुबिधा पाउँदा केही राहत महसुस गरेको तर दाउन्नेको जामले भने सताई नै रहेको बताउँछन् । निर्माण कम्पनिले राजमार्गमा पर्ने साना पुलको काम करिव करिव सकेको र विनयी खोलाको लामो पुल र दाउन्ने खण्डकै बाटो बिस्तार र निर्माणमा केन्द्रित रहेको सडक आयोजना कार्यालयले जनाएको छ ।

बताईए अनुसार पटक पटक सडक निर्माणको म्याद गुजार्दै,म्याद थप्दै आएको निर्माण कम्पनीले पूर्वी खण्डमा सडक निर्माणको भौतिक प्रगति ६३ प्रतिसत पुर्याएको बताईएको छ । अझै पनि साना पुल जयश्री,बेल्डिहा,झरही,कावासोती दुई तर्फी सडक सतह जोडिन बाँकि नै छ । त्यस्तै गिरूवारी,अरूणखोला जस्ता ठूला पुलमा निर्माण कार्य थाती नै रहेको स्थानीय प्रत्यक्षदर्शीहरू बताउछन् । दुम्किबास स्थित विनयीखोलाको पुरानो पुल अत्यधिक भार सहितको ट्रकले भाँचे पछि डाईभर्सनबाट सडक आवागमन भई रहेकाले वर्षा अगावै बिनयी पुलको काम सक्न निर्माण कम्पनी लागि परेको बताईन्छ ।
यातायात मन्त्री नै दाउन्नेको जाममा
पूर्व पश्चिम स्थित बुटवल नारायणगढ खण्डमा भई रहेको सडक बिस्तार तथा निर्माण कार्यको निरिक्षणमा रहेका यातायात मन्त्री आँफै करिव ३ घण्टा दाउन्नेको जाममा परेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सडकको निरिक्षण तथा अनुगमनकै क्रममा बुटबलबाट नारायणगढ तर्फ जाँदै गरेका थिए । वर्षादले सडक हिलाम्मे भए पछि उहाँ केही समय दाउन्ने खण्डमा रोकिए पनि साँझ नै पूर्व तर्फ लागि सकेको जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालले बताए ।

मन्त्री दाहालले राजमार्गको स्थलगत निरिक्षणका क्रममा निर्माण कम्पनीका प्राबिधिकहरूलाई पानी परेको बेला सडक बिस्तारलाई रोकेर पनि सडक आवागमन सहज बनाई राख्न निर्देशन दिएको बुझिएको छ ।

पूर्व पश्चिमको व्यस्त सडकमा बारम्बार जामको समस्या आई रहदा यसलाई निमार्ण कम्पनी सहित सम्बद्ध बिज्ञ प्राबिधिक टोलीले तत्काल सहज विकल्प खोज्नु पर्ने सडक प्रयोगकर्ताहरूको भनाई रहेको छ । प्रहरीले दाउन्ने सडक बिस्तारका क्रममा निर्माण क्षेत्रमा सवारी चाप पर्न नदिन ठाउँमा सवारी रोकेरै भए पनि निर्माणमा सहजीकरण गर्दै आएको बताईन्छ ।