बार्सिलोनाद्वारा डर्टमन्डमाथि गोल वर्षा


लन्डन, (एजेन्सी)


युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध गोलको वर्षा गरेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले आफ्नो घरेलु मैदानमा पाहुना टोली डर्टमन्डलाई ४–० को फराकिलो गोलअन्तरले हराएको हो । गत सिजनमा फाइनल खेलेको डर्टमन्ड यसपटक बार्सिलोनासँग खराब हारबाट बच्न सकेन । पहिलो लेगमै ठूलो जित निकालेपछि बार्सिलोना सेमिफाइनल पुग्ने लगभग तय छ । दोस्रो लेग अर्को साता डर्टमन्डको घरेलु मैदानमा हुनेछ । उक्त खेलमा डर्टमन्डले कमब्याक जित निकाल्न ५ गोल अन्तरको नतिजा हुनुपर्नेछ ।


बार्सिलोनाको जितमा पोलिस स्ट्राइकर रोवर्ट लेवानडोस्की नायक बने । उनले आफ्नो पूर्व क्लबविरुद्ध दुई गोल गरे । बायर्न म्युनिखअघि उनले डर्टमन्डका लागि खेलेका थिए ।यस्तै, ब्राजिलियन स्टार राफिन्हाले एक गोल र दुई असिस्ट गरेर सोझै तीन गोलमा योगदान दिए । युवा खेलाडी लामिन यामलले पनि एक गोल गरेर टोलीको फराकिलो जितमा सघाए ।
बार्सिलोनाले २५औं मिनेटमा राफिन्हाको गोलबाट अग्रता लिएको थियो । सो गोलमा पाउ कुबार्सीले पास मिलाएका थिए । सुरुमा सो गोल कुबार्सीका नाममा राखिए पनि पछि राफिन्हाको नाममा दर्ता गरिएको थियो ।


दोस्रो हाफ सुरु भएको ३ मिनेटमै बार्सिलोनाका लागि लेवानडोस्कीले राफिन्हाको हाई क्रस पासमा पोस्टकै अघिबाट हेडिङ गोल गरे । त्यसपछि ६६औं मिनेटमा लेवानडोस्कीले फेरि गोल गरेर खेल ३–० को बनाए । उनको गोलमा फर्मिन लोपेजले पास मिलाएका थिए । त्यसपछि ७७औं मिनेटमा यामलले शानदार गोल गरे । उनको गोलमा राफिन्हाले असिस्ट गरेका थिए ।

बार्सिलोनाद्वारा डर्टमन्डमाथि गोल वर्षा

युईएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सनसनीपूर्ण कमब्याक जित निकाल्यो । आफ्नै घरेलु मैदान पार्क डे प्रिन्सेस रंगशालामा भएको खेलमा १–० ले पछि परेको पीएसजीले इंग्लिस क्लब एस्टोन भिल्लाविरुद्ध ३–१ को जित निकाल्न सफल भएको थियो ।

पीएसजी ३५औं मिनेटमा गोल बेहोरेर पछि परेको थियो । भिल्लाका लागि मोर्गान रोजर्सले गोल गरेर पीएसजीलाई झट्का दिएका थिए । तर, गोल बेहोरेको ३ मिनेटपछि नै खेलमा फर्किएको पीएसजीले त्यसपछि भिल्लामाथि दवाबमा राख्न सफल भयो ।
पीएसजीका लागि युवा खेलाडी डेजिरे डोयुईले पेनाल्टी बक्सबाहिरबाट शक्तिशाली प्रहारमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफ सुरु भएको चार मिनेटमै खाभिचाले अर्को शानदार गोल गरेर पीएसजीलाई अग्रता दिलाए ।
यसपछि उसामान डेम्बेलको पासमा नुनो मेन्जेडले इन्जुरी समयमा गोल गर्दै टोलीको जित पक्का गरे । यो जितपछि पीएसजी अन्तिम चार प्रवेशको बलियो दावेदार बनेको छ ।

अर्को साता दोस्रो लेगको खेल भिल्लाको घरेलु मैदानमा हुनेछ । त्यहाँ कमब्याक जितका लागि भिल्लालाई कम्तीमा ३ गोलको अन्तरमा जित आवश्यक बनेको छ ।