राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन


काठमाडौं ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैया दाहालको निधन भएको छ।

९२ वर्षीया दाहालको उपचारका क्रममा सोमबार दिउँसो साढे २ बजे दीर्घायु अस्पतालमा निधन भएकाे हाे ।

दाहाल २०३८ सालमा काठमाडौंबाट राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यतिबेला काठमाडौंबाट २ जना मात्रै राष्ट्रिय पञ्चायतमा निर्वाचित हुने व्यवस्था थियो। बढी मत ल्याउने दुई जना निर्वाचित हुन्थे।

२०३८ सालमा दाहाल र जोगमेयर श्रेष्ठ निर्वाचित भएका थिए। दाहालले ६५ हजार सात सय ७० मत ल्याएकी थिइन्।

२०४३ सालमा दाहाल र श्रेष्ठ दुवै पराजित भएका थिए। जनपक्षीय उम्मेदवारका रूपमा चिनिएका पद्मरत्न तुलाधर र विमलमान सिंह श्रेष्ठ निर्वाचित भएका थिए।

दाहाल काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएकी थिइन्।