६ महिनादेखि तलब भत्ता नपाएको भन्दै पठनपाठन बन्द

7.8k
Shares

रामेछाप । 

सुनपाती गाउँपालिकाको एक विद्यालयका शिक्षक तथा कर्मचारीले ६ महिनादेखि तलब भत्ता नपाएको भन्दै पठनपाठन बन्द गरेका छन् । आइतबार सुनपाति गाउँपालिका वडा नः २ दिमिपोखरीका शिक्षक कर्मचारीले  विज्ञप्ति जारी गदै पठनपाठन बन्द गरेको जानकारी गराएका हुन् । 

जारी विज्ञप्तिमा २०८१ वैशाख महिनादेखि तलब भत्ता नपाएको उल्लेख गरेका छन् । विद्यालय व्यवस्थापन समिति र गाउँपालिका बिच भएको विवादमा विद्यालयका शिक्षक, कर्मचारी परेको विज्ञप्तिमा उल्लेख गरेका छन् । 

विद्यालयमा अध्यापन गराउने शिक्षक तथा कर्मचारीले संयुक्त विज्ञप्ति निकाली वैशाखदेखि हालसम्म पनि तलब भत्ता नपाएकोले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारी विद्यालयमा उपस्थित हुने तर अध्यापन कार्य नगर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

शिक्षक कर्मचारीले शिक्षा विकास तथा समन्वय इकाई रामेछाप, सुनापति गाउँपालिका कार्यालय हिलेदेवी, सुनापति गाउँपालिका शिक्षा शाखा, सुनापति गाउँपालिका वडा नं २ कार्यालय दिमीपोखरी, जिल्ला शिक्षक महासङ्घ, रामेछाप, सुनापति गाउँपालिका शिक्षक महासङ्घ र विद्यालय व्यवस्थापन समितिलाई बोधार्थ दिँदै पठनपाठनको काम रोकेको घोषणा गरेका हुन् ।

विद्यालयमा हाल निमावि तहका दुई जना, प्राथमिक तहका दर्बन्दिका चार र राहत दुई गरी ६ जना, एक जना बाल शिक्षा सहजकर्ता र एक कार्यालय सहयोगी गरी १० जना शिक्षक कर्मचारी कार्यरत छन् ।