काठमाडौं ।
कवि तथा गीतकार दिनेश अधिकारीको दार्जिलिङको पर्यटकीय सहर मिरिकमा यसै साता एकल कविता वाचन कार्यक्रम भएको छ।
साहित्य सुनौँ परिवारको आयोजना र दार्जिलिङ जर्नल पब्लिकेशनको सहयोगमा भएको कार्यक्रममा कवि अधिकारीले विसं २०३६ देखि २०८१ सालबिचमा लेखिएका करिब दुई दर्जन चर्चित कविता तथा गीतहरू वाचन गरेका हुन् ।
त्यस अवसरमा कवि अधिकारीले लेखनका सम्बन्धमा आफ्ना मान्यता र वाचित सिर्जनासंग जोडिएका प्रसङ्गहरू पनि सुनाए ।
कार्यक्रममा आयोजक संस्था साहित्य सुनौँ परिवारका अध्यक्ष एवम् समालोचक राजबहादुर राईले समाज र जीवनका विविध पक्षमा लेखिएका कवि अधिकारीका कविता र गीत समान रूपमा उत्कृष्ट रहेकाले विभिन्न भाषामा अनुवाद हुनुपर्ने आवश्यकतामा औँल्याए ।
संस्थाकी सचिव शीला लामाले यस्ता कार्यक्रमले श्रष्ट्राको सम्मान र कृतिको ओजको थप उजागर हुने धारणा राखेको आयोजक संस्था साहित्य सुनौँ परिवारले जनाएको छ।
प्रतिक्रिया