जर्मनीको म्युनिखमा भएको सन् १९७२ को ग्रीष्मकालीन ओलम्पिक्समा जिम्न्यास्टिक्सको ‘डेड लूप’ इभेन्ट्समा एक मात्र स्वर्ण पदक जितेकी खेलाडी हुन ओल्गा कोर्बुत । त्यसबखत उनले गरेको सानदार प्रदर्शन सकिनासाथ आश्चर्यजनक रुपमा जिम्नायास्टिक्सको डेड लूप इभेन्ट्सलाई नै प्रतिबन्ध लगाइएको थियो । त्यसपछिका कुनैपनि स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा यो इभेन्ट्सलाई समावेश गर्न प्रतिबन्ध लगाईएको थियो ।
डेड लूपलाई ओल्गा कोर्बुतको नाम समेत दिइएको छ । यसलाई ‘कोर्बुत फ्लिप’ को नामबाट पनि सम्बोधन गरिन्छ । ओलम्पिक्समा यस्तो जोखिमपूणर् इभेन्ट पहिलो र अन्तिम पटक प्रदर्शन गर्ने ओल्गा कोर्बुत अहिलेसम्मकै एक्ली खेलाडी हुन । वास्तवमा विज्ञहरुले यो इभेन्ट्समा अत्यधिक जोखिम रहेको मनन गर्दै प्रतिबन्ध लगाएका हुन । उनीहरुले संसारभरिका जिम्न्यास्टिक्स खेलाडीहरुलाई कोर्बुतको सफलतालाई दोहोर्याउनबाट हतोत्साहित गरेका थिए ।
को हुन त “मिन्स्कबाट स्प्यारो” ओल्गा कोर्बुत
सन १९५५ मे १६ मा जन्मिएकी ओल्गा कोर्बुत एक बेलारूसी जिमनास्टिक खेलाडी हुन् । जसले सन १९७२ र १९७६ को ओलम्पिक्समा तत्कालीन सोभियत संघबाट प्रतिस्पर्धा गरेकी थिइन । “मिन्स्कबाट स्प्यारो” उपनाम पाएकी उनले ग्रीष्मकालीन ओलम्पिक्समा चार स्वर्ण र दुई रजत पदक जितेकी थिइन ।
सन १९७७ मा २२ वर्षको उमेरमा जिम्न्यास्टिक्सबाट संन्यास लिएकी उनले जिम्न्यास्टिक्समा ठूलो प्रभाव पारेकी थिइन । सन १९७२ को ओलम्पिक्समा गरेको प्रदर्शनपछि जिम्नास्टिक्सलाई हेर्ने नजरिया नै बदलिदिएकी थिइन उनले । किनभने उनले एक्रोब्याटिक्समा जोड दिएर खेललाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन गरेकी थिइन । सन १९९१ मा जिम्न्यास्टिक्स प्रशिक्षण गराउन संयुक्त राज्य अमेरिकामा बसाइँ सरेकी उनले सन २००० मा अमरिकाको नागरिकता लिएकी थिइन ।
के हो त ‘डेड लूप’
जिम्न्यास्टिक्स खेलसँग सम्बन्धित ‘डेड लूप’ एउटा निक्कै नै साहसी र खतरनाक तवरले प्रदर्शन गरिने इभेन्ट हो । यसमा ठाडो रुपमा ठड्याइएका दुईवटा वृत्ताकारको डण्डी र बारहरुमा पालैपालो समात्दै छोड्दै उफ्रिँदै फन्को र छलांग लगाउने गरिन्छ । निरन्तर सहज गतिमा प्रदर्शन गर्नुपर्ने भएकोले यसलाई निक्कै कठिन खेलको रुपमा लिइन्छ । डेड लूपलाई कोर्बुट फ्लिप पनि भनिन्छ ।
डेड लूप गर्दा खेलाडीले आफ्नो गति र स्थिति नियन्त्रणमा निकै चुस्त र चनाखो हुनुपर्दछ । त्यसो भएन भने खेलाडीलाई सही तरिकाले अर्को चालमा जान कठिनाइ उत्पन्न हुन्छ । कठिनाइ भएमा खेलाडीलाई चोटपटक लाग्ने प्रबल सम्भावना रहन्छ र प्रदर्शनमा पनि प्रतिकूल प्रभाव पर्न सक्छ । यस्तो समस्याबाट बच्न र सुधार गर्नको लागि खेलाडीले मानसिक तयारीमा ध्यान दिनुपर्छ र उचित सुरक्षा उपायहरू पनि अपनाउनु पर्छ ।
प्रतिक्रिया