पहिरो पन्छाउन आएका छोरी ज्वाइँको पहिरोमै मृत्यु

9.21k
Shares

पोखरा ।

मंगलबार रातीको भारी वर्षाले पोखरा १९ तल्लकोट टारीमा सामान्य पहिरो झर्‍यो। हालसम्म सुरक्षित देखिएको उक्त ठाउँमा बारीबाट पहिरो खसेको थियो। टारीमात्र होइन पुरनचौरका विभिन्न स्थानमा पहिरो खसेको थियो। तर, टारीमा भने घरकै माथिल्लोभागमा पहिरो गएका कारण पूर्ण रूपमा जोखिम थियो।

स्थानीयले जोखिम देखेरै कुलबहादुरको परिवारलाई उक्त घरमा नबस्न सुझावसमेत दिनुभएको थियो। २५ गते राति परेको भारी वर्षापछि खसेको पहिरो पन्छाउन २७ गते अर्थात बिहीबार कुलबहादुरको छोरीज्वाईंसमेत घर पुग्नुभएको थियो।

रातको समयमा समेत स्थानीयले घरमा खाना खाए पनि नसुत्न आग्रह गरेका थिए तर, सबै परिवार एक ठाउँमा भेट भएपछि उहाँहरू घरमै हाँसीखुसी बस्नुभएको थियो ।

बिहीबार नै पहिरो पन्छाउने जस्तो स्थिति नदेखेपछि शुक्रबार पहिरो पन्छाउने योजना उहाँहरूको थियो । तर, योजना योजनामै सीमित भयो र बन्यो एक चिहान। अचानक पुनः पहिरो गएपछि परिवारमा रहेका सात जनामध्ये ६ जनाको ज्यान गयो। एक जना बाँचे। छोरी प्रभा परियारले करिब एक वर्षअघि मात्रै बिहे गर्नुभएको थियो।

२० वर्षीय प्रभा र उहाँको श्रीमान् २५ वर्षीय अस्मित परियार घरमाथि पहिरो गएको खबर पाएपछि ससुराली घर जानुभएको थियो । तर, उहाँहरूसँगै ४६ वर्षीय कुलबहादुर परियार, उहाँकी श्रीमती ४३ वर्षीया मनकुमारी परियार, आमा ८५ वर्षीया लक्ष्मी परियार र छोरी (१५) प्रशना परियारको पहिरोले ज्यान लियो।

पहिरोको त्रासले नै ५६ वर्षीया राधिका परियारको समेत मृत्यु भयो। राधिका कुलबहादुरकी भाउजु हुनुहन्छ। उहाँको घरमा समेत पहिरोको असर परेको छ। पवन परियार (छोरा १७ वर्ष) मात्र बाँच्नुभयो। उहाँहरूको उद्धार गर्ने क्रममा ३२ वर्षीय कुमार परियार (मृतक कुलबहादुरको दाइको छोरा) घाइते हुनुभयो।

कुलबहादुरका दाइ भोजे दमैले पहिरोको जोखिमपछि घरमा नबस्न छिमेकीले भन्दा नमानेपछि घटना भएको बताउनुभयो। उहाँले आफ्नो श्रीमतीसहित आमा र भाइको परिवारको मृत्यु भएको सुनाउनुभयो।

‘मेरो गुँड पनि भत्किएको छ। श्रीमती बिरामी थिइन्। राती अचानक घमर्‍याङ भयो । माथि भाइ बुहारी हुन्, ज्वाईं छोरी हिजो आएका हुन् । म कान्छाको छोरी ऊ जेठाको छोरा हो’, उहाँले भन्नुभयो, ‘तिनीहरूका परिवार ५ जना मेरी श्रीमती र आमा गरी ७ जनाको मृत्यु भएको हो । सबैले यहाँ नबस नबस भनेकै थिए त्यस्तो कुरा नमान्नाले यस्तो घटना भयो ।’

उता, पोखरा महानगरपालिका ३२ चैतपुर बाह्रबिसेमा पहिरोले आरती ओझाको दुई छोरी अनिता ओझा (१९ वर्ष), अनुष्का ओझा (११वर्ष) र उहाँको दाइको छोरा प्रतीक सुवेदीको (९वर्ष) मृत्यु भयो। आरती भने घाइते हुनुभयो। कास्कीको मादी गाउँपालिका वडा नं. ११ तल्लो ताप्लेमा पहिरोका कारण ८० वर्षीया माइती कुमारी गुरुङको मृत्यु भयो।

Skip This