सिमलताल बस दुर्घटना : ५० किलोमिटर तल एक पुरुषको शव भेटियो

38.82k
Shares

काठमाडौँ।

शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको हो।

शवको साथमा भेटिएका बैंकका एटीएम कार्ड र भारतीय आधार कार्डबाट उनको नाम ऋषिपाल साह भन्ने खुलेको डीएसपी रिजालले बताए।

‘उनी त्यही दुई बसमध्येका यात्रु हुन् कि होइनन् भनेर सोधखोज गर्दै छौँ’, डीएसपी रिजालले भने, ‘उनी भारतीय नागरिक भएको पत्ता लागे पनि ठ्याक्कै घर ठेगाना थाहा भइसकेको छैन, हामी सनाखतको प्रयास गरिरहेका छौँ।’उनका अनुसार ऋषिपालको साथमा ग्लोबल आईएमई र एसबीआई बैंकका एटीएम कार्ड रहेको पाइएको छ। साथै भारतीय आधारकार्ड पनि फेला परेको छ।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगन्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

हिजो शुक्रबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता बस र यात्रु नभेटिएपछि आज बिहानैदेखि खोजी सुरु गरिएको हो।