काठमाडौं ।
कलाकार दम्पती हरिहर अधिकारी र नीता ढुंगानाको होम प्रडक्सनबाट निर्मित फिल्म ह्रस्व दीर्घ आगामी असोज ३ गते रिलिजमा आउने भएको छ।
यसअघि असोज ११ गते रिलिज डेट तोकिएको फिल्म तय फिल्म एक हप्ता पहिले नै रिलिज गर्नेगरी संविधान दिवसको अवसरमा असोज ३ रिलिज गरिन लागेको हो। निर्मात्री नीता ढुंगानाले वितरण कम्पनी र निर्माण समूहको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन्।
‘असोज ३ प्रदर्शनका लागि उपयुक्त दिन ठानेर उक्त मिति रोजिएको हो,’ नीताको भनाइ छ। फिल्मको अहिले डबिङको काम भइरहेको छ। लामो समयपछि फिल्ममा देखिन लागेकी अभिनेत्री विपना थापा अहिले डबिङ गरिरहेकी छन्।
चन्द्र पन्तद्वारा निर्देशित ह्रस्व दीर्घमा नीता ढुंगाना र उनका नायक तथा ज्योतिष पति हरिहर अधिकारीका साथमा दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, वलिउड कलाकार प्रदीप रावत, विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायत कलाकारले अभिनय गरेका छन्। सोस ड्रामाको प्रेमकथामा बनेका फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ।
अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्म वलिउडका छायाँकार कविरलालले छायांकन गरेका छन्। निता फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा कोरियोग्राफी रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमन तथा र सम्पादन मित्र डी गुरुङको रहेको छ।












प्रतिक्रिया