‘६ लाख बालबालिलाई शिक्षा दिलाउन सहयोग गरेका छौं’

14.66k
Shares

सन् १९९३ मा धनुषाको भरतपुर गोदार गाविसमा बालबालिकाका लागि शिक्षा, महिलाका लागि सशक्तीकरण, आय–आर्जन लगायतका कार्यक्रमका लागि सेभद चिल्ड्रेन जापानको सहयोगमा काम गर्दै आएका आस्मान नेपालका कार्यकारी निर्देशक नवलकिशोर यादव अनवरत रूपमा बालबालिकाको शिक्षाका लागि सेतुको काम गर्दै हुनुहुन्छ । उहाँसँग नेपाल समाचारपत्रका सहसम्पादक भगवती तिमल्सिनाले गर्नुभएको कुराकानीको सारसंक्षेप :

शुरूमा बालबालिका लागि काम कसरी गर्नुहुन्थ्यो ?

सहयोगी दाता जापानी आईएनजीओ सेभ द चिल्ड्रेनमार्फत धनुषा लक्षित भएर काम गरें । विस्तारै सन् १९९८ मा आएर स्थानीय एनजीओ खोल्न सोही संस्थाले हौसायो । जापानकै सहयोगमा सन् १९९९ जुन ६ तारिखमा आस्मान नेपाल सामुदायिक विकास संस्था खोल्यौं । सन् २००० को पहिलो सातामै बोर्ड राखेर काम शुरु ग¥यौं । यो संस्था खुलेसँगै पहिलेदेखि गर्दै आएको कामलाई निरन्तरता दिएको छु । विशेष गरी बालबालिकाको शिक्षा र महिलाका लागि सशक्तीकरणमा केन्द्रित भएर काम गथ्र्यौं । आर्थिक रूपमा जापानले सहयोग गर्दै आएको थियो ।

आस्मानको अर्थ के हो ?

यो संस्थाको नामका लागि जापानीजका साथ नेपाली टिमसँग ५० वटाभन्दा बढी बैठक बस्यौं । अन्तमा मैथिली भाषामा आस्मान भनेको ठूलो र स्वच्छ आकाश भन्ने अर्थ निस्कियो । सबैलाई यो नाम राम्रो लागेकाले राखेका हौं । यो नामको पछाडि खुला आकाश जस्तै स्वच्छ भावनाले काम गर्ने भन्ने पनि हो।

शुरूमा कसरी काम गर्नुभयो ?
आस्मानले धनुषाको ३५ गाविसमा चार वटा अफिस राखेर बाल शिक्षामा नै काम शुरु गर्‍यो । आर्थिक सपोर्ट सेभद चिल्ड्रेन जापानले नै गर्थ्यो । गाउँ–गाउँमा विद्यालय बनाउने ठूलो (सीआईपी चाइल्ड राइट) प्रोजेक्ट नै शुरु गर्‍यौं। त्यसमा १ सय जनाभन्दा बढी स्वयंसेवी महिलालाई अवसर दियौं। उहाँहरुलाई कामका बारेमा व्यावहारिक तालिम दियौं । यसका साथै फिल्डमा खटिन साइकलको व्यवस्था गरियो । त्यसमा ५० प्रतिशत संस्थाको लगानी र ५० प्रतिशत व्यक्ति स्वयमले व्यहोर्नुपर्थ्यो ।

त्यति बेला महिलाले साइकल चलाउन वातावरण सहज थियो त ?

शुरुमा जे काम गर्न पनि चुनौतीपूर्ण हुन्छ । हामीले वातावरण बनाउनुपर्छ भनेर योजनासहित १ सय महिलालाई रोजगारी दियौं । एकैपटक १ सय महिला साइकल लिएर फिल्डमा काम गर्दा देख्नेहरु अचम्म मानेर हेर्थे । अहिले तिनैमध्येका ८० प्रतिशत जनशक्ति स्थायी रूपमा नेपाल सरकारको मातहतका विद्यालयमा अध्यापन गराउँछन् ।

यति धेरै स्थानमा एकैपटक कसरी काम शुरू गर्नुभयो ?

हरेक घरको एउटा बच्चा त्यो घरका लागि शतप्रतिशत हो भन्ने ठम्याइका साथ प्रतिबच्चा अनुगमन गर्ने उद्देश्यले सन् २००५ मा शिक्षामा नै होमियौं । अफिस बढाएर युनिसेफ जापानसँगको सहकार्यमा स्वागत माउन्टेन नामक कार्यक्रम शुरु ग¥यौं । यो अभियान २ जिल्लाबाट शुरु गरी ३ जिल्लामा पुगियो । जापानी संस्थाले प्रोत्साहन गर्दै गयो । सन् २००७ मा धादिङमा सिसम नामको प्रोजेक्टनै ल्यायौं । २००९ मा कालिकोट गएर ५ वटा स्थानीय संस्थासँग मिलेर सहकार्यमा काम गर्‍यौं। यसरी नै कार्यक्रम कैलाली, जुम्ला, डंडेलधुरा, डोल्पा, जाजरकोट, डोल्पा हुँदै ३९ वटा जिल्लामा फैलियो ।
जिल्ला, गाउँ तहमा धेरै काम गर्‍यौं । बालश्रम नगराऔं स्कुल पठाऔं भन्ने अभियान शुरु ग¥यौं । त्यति बेला भारतको हैदरावाद पनि बाल शिक्षा अभियान चलेको थियो । बाल अधिकारका धेरै कुराहरु त्यहाँबाट पनि सिक्यौं र ३५ गाविसमा एकैपटक अभियानकै रूपमा काम गर्दै गयांै । कामको परिणामले संस्थाको पहिचान पनि राम्रो भयो ।

एकैपटक धेरै स्थानमा काम गर्दा गुणस्तर व्यवस्थापन गर्न कठिन भएन ?

आस्मानले जहाँ समस्या छ त्यहाँ हामी पुग्नुपर्छ भनेर अभियान अघि बढाएको हो । सन् २०१५ मा आएर जिल्ला धेरै हाइन गुणस्तरमा ध्यान दिने र जनकपुर अञ्चल केन्द्रित हुने लक्ष्य बनायौं । यति नै बेला माओवादी द्वन्द्व थियो तर हामीलाई काम गर्न अप्ठ्यारो परेन । फेरि मधेस आन्दोलन शुरु भयो । रामेछापमा पनि एचआईभी एड्समा ५ वर्ष काम गर्‍यौं । यो काम सन् २०१० देखि २०१४ सम्म सेभद चिल्डे«न जापानको सहयोगमा गर्‍यौं। सन् २०१० देखि नै बजेट कटौती शुरु भएको थियो । २०१५ सम्मको कार्यक्रम सकिँदा २३ जिल्लामा कार्यक्रम चलेको थियो ।

अहिले कार्यक्षेत्र र कार्यक्रम कस्तो छ ?

पहिलाको दाँजोमा अहिले क्षेत्र कम काम गुणस्तरीय छ । सरकारसँगगको समन्वयमा काम गरिरहेका छौं । धेरै उतार–चढावका बीच शिक्षा र स्वास्थ्यमा केन्द्रित भएर काम गरियो । यही जुन ६ तारिकका दिन जनकपुरमा २५औं वार्षिकोत्सव मनाउँदै छौं ।

एनजीओमा धेरै बजेट तलब भत्तामा सकिन्छ । काम थोरै गरेर घोटाला गरिन्छ भन्ने जनगुनासो पनि छ नि ?

एनजीओमा पनि घोटाला हुन्छ । म मात्र चोखो छु, भन्न खोजेको होइन । एनजीओको नेतृत्वले सरकारको नीति नियममा रहेर काम गर्ने हो भने यस्तो सम्भावना कम हुन्छ र काम धेरै हुन्छ । शुरुमा हामीलाई जापानी व्यवस्थापनमा काम गरेकाले पछिल्ला दिनमा पनि काम गर्न सजिलो भयो । यो संस्थामा अहिले पनि केही पुराना मान्छेले बाल सुरक्षा र स्वास्थ्य जस्ता काम गरिरहेका छन् । हाम्रो संस्थामा अनुगमन तथा मोनिटरिङमा २९ जना आर्थिक अनुगमनमा २६ जना रहेका छन् । ४ सय जना यो संस्थामा कर्मचारी, कामदार छन् । विगत ५ वर्षदेखि कोरफमबाहेक बाँकी प्रोजेक्ट मेनेजरले हेर्ने व्यवस्था गरिएको छ ।

आस्मानलाई कसरी चलाइरहनुभएको छ ?

आस्मानलाई व्यक्तिले नभई नीति नियमले चलाएको छ । अधिकांश काम अनलाइनबाट हेर्न सकिन्छ । यसरी काम गर्दा २० वटा प्रोजेक्ट एकैपटक हेर्न र चलाउन सकिन्छ । यहाँ काम गर्ने हरेकमा इमानदारिताको अभ्यास छ । यही भएर हामी प्रोजेक्ट खोज्न जाँदैनौं योजनाले नै हामीलाई खोज्न आउँछन् । विश्वासका आधारमा काम गर्छाैं र सबैको मन जित्न सफल भएका छौं ।

संस्था चलाउन कत्तिको सहज छ ?
एउटा संस्था चलाउनु भनेको घर, समाज, जिल्ला मात्र नभई देश चलाउनु जतिकै कठिन काम हो । नीति, नियम, कानुन बनाएर सबैले पालना गर्दा काम गर्न सजिलो हुन्छ ।

सञ्चारमाध्यममा आएका विषयवस्तुलाई कसरी लिनुहुन्छ ?

सञ्चारमाध्यममा आएका विषयलाई हल्का लिनुहुन्न । कतिपय अवस्थामा मानिस कामको सिलसिलामा अन्यत्र सरुवा हुने विभिन्न स्थानमा जानुपर्ने हुँदा बच्चा पनि साथै लैजानुपर्ने बाध्यता हुन्छ । यस्ता विषय हामीले मिडियामार्फत जानकारी पाउँछौं । जुन बालबालिका, बाबुआमा काममा अन्यत्र गएपछि विद्यालय आउँदैनन् त्यस्ता अधिकांश बालबालिका श्रमिक बनेका हुन्छन् । यस्ता बच्चाहरुलाई सकेसम्म विद्यालय नै फर्काउन कोशिस गर्छौं । अनौपचारिक शिक्षाले गुणस्तरिय शिक्षा दिन सकिन्न । त्यसैले आस्मान नेपालले काम गरेर मात्र पुग्दैन सबै मिलेर काम गरे सशक्त रूपमा जान सक्छ भन्ने मान्यता राख्छ ।

देशका लागि एनजीओको नीति र काम पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नेता सबै एकैखालका हुँदैनन् । स्व. मनमोहन अधिकारीले प्रधानमन्त्री भएर आफ्नो गाउँ आफैं बनाउँ भन्ने अत्यन्तै महत्वपूर्ण योजना ल्याउनुभयो । यो अभियानको सफलता र महत्वका बारेमा मिडियाले नै आम नागरिकलाई जानकारी गराएको हो ।

अहिलेसम्म कति बच्चालाई शिक्षा दिनमा सघाउनुभयो ?

हालसम्म ६ लाख जति बच्चालाई शिक्षामा सपोर्ट गरेका छौं । स्कुल छुटेका ३५ हजार बच्चालाई स्कुल लग्यौं । ५ वर्षमा २८ हजार छोरीलाई ९ महिने सीपमूलक तालिम दिएका छौं । ५ लाखभन्दा बढी बच्चाले आस्मानबाटै सुविधा लिए । तिनै बच्चा आज यो देशको नेता, इन्जिनियर, डाक्टर, नर्स, व्यावसायी, स्वयंसेवी बनेका छन् । अहिले पनि २ जना सांसद भएका छन् । स्थानिय तहमा महिला नेतृ धेरै छन् ।

आस्मानले गरेको काममा बिर्सनै नसक्ने कुनै प्रसंग छ कि ?

छ, यो संस्थामा एक महिला कर्मचारी कार्यरत हुनुहुन्थ्यो । उहाँ गर्भवती भएको उहाँको सासूले थाहा पाएपछि बच्चाको नाम आस्मान नेपाल ठाकुर राख्ने निधो गर्नुभएछ । हजुरआमाले बच्चाको नाम आस्मान राख्नुको पछाडि बच्चा आस्मान जस्तै शिक्षा र स्वास्थ्यका क्षेत्रमा सर्वत्र ज्योति फैलाउन सक्ने होस् भन्ने रहेछ । अहिले ती बच्चा एसईई दिने भएका छन् ।

शिक्षा विदेशमुखी भयो भनिन्छ नि ?

यसको सुधार नीतिगत नै हुनुपर्छ । गाउँमा उच्च शिक्षा लिन विज्ञान विषयको पढाइ हुँदैन । विद्यार्थी, शिक्षक, पत्रकार, एनजीओकर्मी सबै नेता बन्न चाहन्छन् । एउटा नेताले केही गर्न सक्दैन । नेताले नीति बनाउने हो । हाल ८ लाख विद्यार्थी विद्यालय बाहिर छन् । यसमध्ये सबैभन्दा धेरै ३ लाख ९१ हजार तराईमा छन् ।
पहाडमा राम्रै छ । अध्ययन उपलब्धि धेरै राम्रो छैन । मोडल स्कुल भनिन्छ, भवन रंगियो विद्यार्थी छैनन् । ड्रप आउटको संख्या बढ्दो छ । यसको प्रमुख कारण आर्थिक अभाव, देखासिकी, विदेश पलायनको लहर, बाच्नका लागि श्रम गर्नुपर्ने बाध्यता नै हो ।

Skip This