कार्यदलसहित शीर्ष नेताको बैठक बालुवाटारमा जारी



काठमाडौं ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलका सदस्यसहित सत्तापक्ष र विपक्षका नेताहरूको संयुक्त बैठक सुरु भएको छ ।

बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेशबारे छलफल हुने छ। कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयमा विवाद रहेको छ।

सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी छन् भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी छन्।

त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी छन् भने रास्वपाबाट सभापति तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्