मेयर साहको स्टन्टविरुद्ध न्युरोडवासी संगठित



  • कानुन विपरित महानगरले तोडफोड गर्‍यो : मन्त्री महासेठ
  • कानुनविपरीत सडक बिस्तार गर्न पाइँदैन : वडा अध्यक्ष महर्जन

काठमाडौं ।

महानगरपालिकाका मेयर बालेन्द्र साहको सडक साघुँरो पारेर पेटी बढाउने निर्णयविरुद्ध न्युरोडका बासिन्दा एकजुट भएका छन्। मेयर साहले न्युरोड क्षेत्रको सडक साघुँरो पारेर पेटी बढाउन थालेको विरोधमा कामपा वडा नं. २२ का अध्यक्ष चिनीकाजी महर्जनसहित वडावासीले आइतबार विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनको क्रममा वडावासीले तत्काल काम रोक्न माग गरेका थिए ।

वडा अध्यक्ष महर्जनले महानगरपालिकको अधिकार क्षेत्रभित्र नपर्ने न्युरोड सडकमा मेयर साहले जबरजस्ती सडकको सिमाना घटाउन थालेपछि आन्दोलनमा उत्रिनु परेको जानकारी दिनुभयो। महानगरले तत्काल काम नरोके कडा संघर्षमा उत्रने चेतावनी दिँदै उहाँले भन्नुभयो– ‘८ मिटरसम्मको सडक महानगरपालिकाको अधिकार क्षेत्रभित्र पर्छ । मेयर साहले त मनपरी गर्नुभएको छ ।’

न्युरोड क्षेत्रमा चारवटा डोजरले सडक साँघुरो पार्न थालेपछि शनिबार राती साढे ११ बजेसम्म स्थानीयले डोजर चलाउन रोकेका थिए । शनिबार काम रोकेपछि आइतबार विवाद साम्य भएको थियो ।

त्यसअघि आइतबार भौतिक पूर्वाधार मन्त्री यातायात मन्त्री रघुवीर महासेठले काठमाडौं न्युरोडमा महानगरले कानुनविपरीत तोडफोड गरेको आरोप लगाउनुभएको थियो । उहाँले भन्नुभयो– ‘कलंकीदेखि महाराजगञ्जको कुरा व्यक्तिगत रूपमा सल्लाहका रूपमा लिएको छु । त्यसमा मेरो कुनै आपत्ति छैन । सुझावका रूपमा लिएको छु । तर, न्युरोडमा जुन क्रियाकलाप भयो, त्यो काननुसम्मत छैन त्यसमा मेरो आपत्ति छ ।’

शनिबार काठमाडौं महानगरले सडक डिभिजन कार्यालयको गेटमा फोहोर फालिदिएपछि दुवै पक्ष वादप्रतिवादमा उत्रिएका छन् । सडक डिभिजन कार्यालय काठमाडौंका सूचना अधिकारी इन्जिनियर प्रमोद खतिवडाले डिभिजन कार्यालयको मातहतमा पर्ने सो सडक मर्मत, बिस्तार वा घटाउनु पर्दा कार्यालयको सहयोगमा नगरी कानुनी प्रावधान बिर्सेर मनपरी गर्न थालेपछि काम रोक्नको लागि पत्र पठाएको जानकारी दिँदै भन्नुभयो– ‘आइतबार पत्र पठाएका छौं, त्यस विषयमा के जवाफ आउँछ त्यसपछि थप प्रक्रियाअघि बढाउनेछौं ।’

मेयर साहको निर्देशनमा दुई निकायमा धुलो फालेपछि डिभिजन कार्यालयले शनिबार राति विज्ञप्ति जारी गर्दै अनुमतिबिना न्युरोडको स्टान्टर्ड मापदण्ड घटाउने काम भइरहेको हुँदा आफूहरूले रोकेको तर, महानगरले विषयान्तर गरेर चक्रपथको विषय जोडेको स्पष्टीकरण दिएको थियो। शनिबार महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभागबाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौंबाहिर थुपारेको हो।

मेयर साहको लहडको कारण कामपाको अधिकांश क्षेत्रमा समस्या पर्न थालेको छ। स्टन्टबाजी गर्न माहिर मेयर साहले कानुनविपरीत सडक डिभिजन कार्यालय काठमाडौंमा फोहोरको धुलो फालेका थिए। त्यसअघि पनि उहाँले सामाजिक सञ्जाल एक्समा पटकपटक सरकारलाई गाली गालौज र धम्की दिने कार्य गर्दै आउनुभएको छ।

मेयर शाहले भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठलाई पायक पर्ने ठाउँमा धुलो थुपारेको भन्दै सामाजिक सञ्जालमा लेख्नुभएकोे थियो–‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनुहुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु।’

मेयर शाहले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ विस्तारका कारण त्यस क्षेत्रका बासिन्दाले १५ वर्षदेखि धुलो खानु र कष्ट ब्यहोर्नुपरेको उल्लेख गर्नुभएको थियो। ‘काठमाडौंमा हुने ५० प्रतिशत बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानुपरेको छ। कामपाको सो कामको सम्पदा सल्लाहकार यादवलाल कायस्थले समेत विरोध जनाउनुभएको छ।

उहाँले भन्नुभयो– ‘मेयर साबले हतार गर्नुभयो, न्युरोडको सडक कस्को अधिकारक्षेत्रभित्र पर्छ बुझदै नबुझि साघुँरो पार्न थाल्नुभएको छ, यसरी चल्दैन। सयवटा काम गरेपछि मात्र यस विषयमा सोच्नुपथ्र्यो, अहिले हतार गर्नुभयो। सयौं वर्ष पुरानो बस्तीको स्वरूप बिगार्न थाल्नुभयो। अहिले नै सबैतिर बार लगाउनु आवश्यक छैन, सडकमा भिल्केबत्ती राख्नु जरुरी छैन।’

प्रतिक्रिया दिनुहोस्